
पर्सा : सहरी विकासमन्त्री प्रभु साहले दण्ड र पुरस्कारको नीतिलाई कार्यान्वयनमा नल्याएका कारण सरकारी परियोजना समयमा पूरा हुन नसकेको बताएका छन्।
सहरी विकास मन्त्रालयले आज वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री साहले गुणस्तरीय र समयमा परियोजनाको काम पूरा गर्ने ठेकेदार वा परियोजनासँग जोडिएका सरकारी कर्मचारीलाई पुरस्कृत गर्ने र समयमा काम पूरा नगर्नेलाई छानबिन गरी दण्डित गर्ने परिपाटीको विकासमा मन्त्रालय लागेको जानकारी दिए।
उनले ठेक्का सकार गर्ने र वर्षौंसम्म काम पूरा नगरी अल्झाइराख्ने परिपाटीको अन्त्यका लागि अब सरकार कठोर कदम चाल्ने तयारीमा रहेको बताए। उनले अब रुग्ण परियोजनाको छानबिन गरी ठेकेदार अथवा सरकारी कर्मचारी जो दोषी देखिन्छन्, तिनलाई कारबाही हुने बताए।
सरकारद्वारा सञ्चालित जनता आवास कार्यक्रममा अनुदान रकमलाई दुई लाख ३६ हजार रुपैयाँबाट बढाएर तीन लाख ५० हजार पुर्याइएको मन्त्री साहले जानकारी दिए।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले वीरगञ्जवासीले भोग्नुपरेको सडक तथा ढलका समस्याबारे जानकारी मन्त्री साहलाई जानकारी गराएका थिए।
उनले वीरगञ्जमा सञ्चालित एडिबी परियोजनाको काम सकारले गरेका ठेकेदारले समयमा काम पूरा नगरेको र नगर क्षेत्रभरिको सडक प्रयोग बिहीन अवस्थामा पुर्याएका कारण नगरवासीले भोगेको पीडाबारे मन्त्री साहलाई अवगत गर्दै समस्याको चाँडै समाधान गराइदिन आग्रह गरेका थिए। रासस