
काठमाडौँ : नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन फिर्ता नलिए डाक्टर गोविन्द केसीले पुन: अमरण अनशन बस्ने चेतावनी दिएका छन्।
सप्तरीमा स्वास्थ्य शिविर सञ्चालन गरेर फर्केलगत्तै डाक्टर केसीले भदौ २१ गतेसम्मका लागि सरकारलाई अल्टिमेटम दिएका हुन्। उनले विज्ञप्ति मार्फत् चिकत्सा क्षेत्रको सुधारको अभियान निरन्तर जारी रहेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘विगतमा भएका सम्झौता र माथेमा प्रतिवेदन विपरित नेशनल कलेजले पाएको सम्बन्धन जालझेलपूर्ण छ।’
अराजकता रोक्न पुन: निर्णायक आन्दोलनमा होमिने विज्ञप्तिमा उल्लेख छ। त्रिविको कूलपतिजस्तो गरिमामय पदमा भएका प्रधानमन्त्री र अन्य मन्त्रीहरुले यस विषयमा अवाज नउठाउँदा शंका उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ।
डाक्टर गोविन्द केसीका वार्ता टोलीका सदस्य डाक्टर वाइपी सिंहले सरकारी वार्ता टोलीले यसबीचमा वार्ता गर्न कुनै पहल नगरेको बताए। उनले भने, ‘अव वार्ता टोलीसँग हामी छलफलमा बस्दैनौं। उनीहरु हाम्रो मुद्धामा सिरियस छैनन्।’
यस्ता छन् डाक्टर केसीका माग
१) काठमाडौं नेशनल मेडिकल कलेजलाई दिइएको अवैध सम्बन्धन तुरुन्त खारेज गरियोस्। त्रिविले दुरुपयोग गरेका सम्बन्धन, विद्यार्थी भर्ना र शुल्क सम्बन्धी सबै अधिकारहरु आइओएममा तत्काल फर्काइयोस्।२) हामीले दिएका सुझाव र माथेमा प्रतिवदेनअनुसार परिमार्जन गरेर चिकित्सा शिक्षा ऐन तत्काल जारी गरियोस्।
३) त्रिविका उपकुलपति, रेक्टर र रजिस्टारलगायत कार्यकारी परिषद्का सदस्यहरुलाई बर्खास्त गरी तत्काल छानविन र कारवाहीको प्रक्रिया अघि बढाइयोस्। चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको म्याद तत्काल थपेर काम गर्ने वातावरण मिलाइयोस्।