PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

देशको शिर झुकाएको हैन, उच्च गरेको छु : प्रम देउवा



रमेश वाग्ले

देशको शिर झुकाएको हैन, उच्च गरेको छु : प्रम देउवा

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पाँच दिने भारत भ्रमणका क्रममा देशको शिर झुकाएको नभई उच्च गरेको प्रतिक्रिया दिएका छन्। 

प्रतिपक्षी एमालेको स्थायी कमिटीको बैठकले भारतमा प्रधानमन्त्री देउवाले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको थियो। 

तर प्रधानमन्त्री देउवाले आज स्वदेश फर्कने बित्तिकै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा त्यसको जवाफ दिँदै भने, 'मैले देशमा भएको यथार्थ कुरा भनेको छु।'

उनले थपे, 'कुन कुरा कहाँ भन्ने, कहाँ नभन्ने भनेर कोड अफ कन्डक्ट बनाउँ। सर्वपक्षीय सहमति गरौँ। हैन भने कुनै नराम्रो कुरा बोलेको हैन।' 

सहमति गरेर संविधानको सर्वस्वीकार्यता बढाउने देशको हितमा भएको कुरा आफूले बोलेको जिकिर प्रधानमन्त्री देउवाको थियो। 

सप्तकोशी उच्च बाँधबारे कुरा हुँदा आफूले पहिले बाँध बनाउँदा खेरीको मुआब्जा नै स्थानीय बासिन्दाले नपाएको हुनाले जनतामा उच्च बाँधले लाभ हुन्छ भन्ने विश्वासै जाग्न नसकेको उल्लेख गरेको प्रधानमन्त्रीले बताए। 'त्यसैले पहिले क्षतिपूर्तिवापतको रकम दिउँ, विश्वास जगाउँ, त्यसपछि उच्च बाँधको कुरा जनतामा विश्वास जाग्छ', प्रधानमन्त्री देउवाले भने। 

सप्तकोशी उच्च बाँधको विस्तृत परियोजना प्रतिवेदन सन् २००६ मा नै सकिने भने पनि अहिलेसम्म सकिएको छैन। दुवै देशले सन् २००४ मा  संयुक्त आयोजना कार्यालय स्थापना गरेर परियोजनाको अध्ययन थालिएको हो।

उनले फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपाली सेनाले काम गर्ने र भारतले सहयोग गर्ने गरी समझदारी भएको बताए। 

उनले भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्धमा विश्वास कायम गरी राष्ट्रहितमा प्रयोग गर्ने रहेको र त्यसमानेमा आफ्नो भ्रमण सफल भएको दावी गरे। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell