PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

देउवाको बोलीमा प्रचण्डको गुनासो : उहाँलाई भेटेरै सोध्छु



अनन्तराज न्यौपाने

देउवाको बोलीमा प्रचण्डको गुनासो : उहाँलाई भेटेरै सोध्छु

विराटनगरः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका बेला प्रधानमन्त्री शेरबहादर देउवाले संविधान संशोधनकाबारेमा दिएकाे अभिव्यक्तिप्रति असन्तुष्टि प्रकट गरेका छन्।

अध्यक्ष प्रचण्डले यस्तो चर्चा अनावश्यक भएको भन्दै असन्तुष्टि जनाएका हुन्।

पार्टीको कार्यक्रममा सहभागी हुन आज बिहान विराटनगर आएका अध्यक्ष प्रचण्डले भारत भ्रमणका बेला प्रधानमन्त्री देउवाले गरेको संविधान संशोधनसम्बन्धी चर्चा त्यहाँ आवश्यक नभएको प्रतिक्रिया दिए।

‘त्यो कुन सन्दर्भमा उहाँले भन्नुभएको हो, उहाँलाई भेटेर मैले कुरा त गर्नैपर्छ’, प्रचण्डको भनाइ थियो, ‘तर त्यो सन्दर्भ त्यहाँ आवश्यक पनि थिएन। संविधान त एउटा गतिशील दस्तावेज हो। आवश्यकताअनुसार संशोधन भइ नै रहन्छ ।’

अध्यक्ष प्रचण्डले संविधान संशोधनका बारेमा अहिले सन्दर्भ टुङ्गिसकेको दाबी गरे।

उनको तर्क थियो, ‘किनकी राजपासमेत सहभागी भएर संशोधनको प्रक्रियालाई टुङ्गो लगाइएको छ । अब निर्वाचन गर्ने अनि निर्वाचनपछि कस्तो सरकार आउँछ, कस्तो संसद आउँछ, के–के विषयमा संशोधनको आवश्यकता पर्छ त्यो पछिको विषय हो। भोलि हामी संशोधन गरिहाल्छौँ भनेर अहिले बोलिराख्ने आवश्यक विषय होइन भत्रे हामीलाई लागेको छ।’

आफूले नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा कतै पनि र कसैसित प्रतिवद्धता नगरेको उनले जानकारी दिए।

‘भारतमा कुनै कमिटमेन्ट गरेका छैनौँ’, प्रचण्डको ठोकुवा थियो, ‘झन् हाम्रो पार्टी र मैले त कमिटमेन्ट गर्ने प्रश्न नै छैन। जसले लगातार धर्मनिरपेक्ष राज्य हुनुपर्छ भनेर सङ्घर्ष गर्यो उसैले हिन्दुराष्ट बनाउँछु भनेर कमिटमेन्ट गर्यो भन्नु आफैँमा बेकार कुरा हो। तर देउवाजी र अरुले के गरे भन्ने कुरा चाहिं उहाँहरूले नै जात्रे विषय हो।’

अध्यक्ष प्रचण्डले कोशी उच्च बाँधका बारेमा पुनर्विचार गरिनुपर्छ भन्ने विचार प्रकट गरे। आफ्नो पार्टीले सुरुदेखि नै कोशी उच्च बाँधका बारेमा पुनर्विचार गर्नुपर्ने दृष्टिकोण राखेको उनको भनाइ थियो। 

नेपाल र भारत सरकारको संयुक्त वक्तव्यमा नभए पनि सहमति पत्रमा कोशी उच्च बाँधको विषय उल्लेख भएको आफूलाई जानकारी भएको उनले स्पष्ट पारे।

‘सबै अध्ययन गर्न भ्याएको पनि छैन’, प्रचण्डको भनाइ थियो, ‘यताबाट फर्केपछि विस्तृत अध्ययन गरेर मात्र अन्तिम टिप्पणी गर्न सकिन्छ।’
भारत भ्रमणका बेला प्रम देउवाका अभिव्यक्तिप्रति असन्तुष्टि जाहेर गरेका प्रचण्डलाई पत्रकारहरूले के यसबाट सरकारको समीकरणमा असर पर्ला त भन्ने प्रश्न गरेका थिए।

‘त्यस बारेमा पनि अहिल्यै केही भनिहाल्नु हतार हुनेछ’, अध्यक्ष दाहालको उत्तर थियो, ‘किनकि मैले प्रधानमन्त्रीजीसित भेटेर कुरा गर्न नै बाँकी छ। उहाँ बेलुका आउनुभयो, हामी बिहान हिँडिहाल्यौ। बल्ल परराष्ट्र मन्त्रीजीले आज बिहान सबै डकुमेन्ट दिनुभयो। संयुक्त वक्तव्य, सहमति भएका बुँदा सबै त्यस डकुमेन्टमा छन्। यहाँबाट फर्केर गएपछि विस्तृत अध्ययन गरेर अनि सरकारसित कुरा गरेरमात्र सबै कुराको टुङ्गो लगाइनेछ।’

भारतीय राजदूतावासले विराटनगरमा राखेको क्याम्प अफिसलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री हुँदा हटाउन पत्र लेखेको भएपनि भारतीय पक्षले नहटाएको विषयमा पचण्डलाई सोधिएको थियो।

‘हामी अहिले पनि त्यही अडानमा दृढमा छौँ, त्यो कार्यालय हटाइनुपर्छ’, अध्यक्ष दाहालको अडान थियो, ‘हाम्रो अडान र पोजिसन अहिले पनि त्यही हो। निर्देशन हुँदाहुँदै पनि नहटाउनु दुर्भाग्यपूर्ण हो।’

उनले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी मधेशवादी दलसित तालमेल गर्न इच्छुक रहेको जानकारी दिए।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर जो भए पनि तिनसित हामी चुनावी तालमेल गरेर जान सक्छौँ’, प्रचण्डको स्पष्टोक्ति थियो, ‘तर आसन्न प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा भने हामी मधेशवादी दलसित तालमेल गर्न चाहन्छौँ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell