
धार्मिक गुरुका नामा ठूलो इम्पायर खडा गरेका गुरुमित राम रहिम सिंहको मुद्दामा आज हरियानाको विशेष अदालतले सजाय तोक्दैछ। बलात्कार र हत्याका अभियोगमा पक्राउ परेपछि उनका समर्थकले मच्चाएको तान्डवका कारण ३० भन्दा धेरै गोलीको सिकार भए। आज उनलाई दिइने सजायँको फैसला आउँदैछ। गत शुक्रबार अदालतले उनलाई दोषी ठहर गरिसकेको छ। रोहतकमा रहेको जिल्ला कारागारभित्र बस्ने विशेष अदालतले उनलाई सजायँ सुनाइँदैछ। सरकारले न्यायाधीशहरुलाई हेलिकप्टरबाट कारागार पुग्ने व्यवस्था मिलाएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।
यो केसबारे जान्नै पर्ने १३ तथ्य -
१) रामरहिममाथि बलात्कारको आरोप तत्कालीन प्रधानमन्त्री अटलबिहारी वाजपेयीको नाममा एक साध्वीले बेनामे पत्र लेखेपछि सुरु भएको थियो। पत्रमा ती महिलाले आफूमाथि रामरहिमले बलात्कार गरेको कुरा लेखेकी थिइन्। यो सन् २००२ को कुरा थियो।२) पत्रमा साध्वीले रामरहिमले उनको क्याम्पमा रहने अरु कयौँ महिला भक्तजनहरुलाई पनि बलात्कार गरेको आरोप लगाएकी थिइन्।
३) रामरहिमविरुद्ध कसैले पनि उजुरी दर्ता गरेको थिएन। न कसैले मुद्दा नै दर्ता गरेको थियो। यो पत्र सार्वजनिक भएपछि पन्जाब र हरियाणा उच्च अदालतले सुओ मोतु अर्थात् आफ्नै पहलमा साध्वीको पत्रलाई गम्भीरताका साथ लिएर सिबिआइलाई यौन दुर्व्यवहारको केस दर्ता गर्न निर्देशन दिएको थियो। यो पनि सन् २००२ कै कुरा। सिबिआइले त्यसपछि मुद्दा दर्ता गरेको थियो। आधार त्यही बेनामे पत्र थियो।
४) सिबिआइले १८ साध्वीसँग सोधपूछ गरेको थियो। तीमध्ये दुईले यी धार्मिक नेतामाथि बलात्कारको आरोप लगाएकी थिइन्। एक साध्वीले त आफूलाई शुद्ध गर्ने भएकोले बलात्कार उचित भएको समेत बताएकी थिइन्।
५) दुवै साध्वीले आफूलाई बलात्कार गरिएको बयान अदालतसामु दिइन्। स्पेसल सिबिआइ कोर्टले सन् २००७ को जुलाई ३० मा चार्जसिट दायर गर्दा यी बयान पनि राखिएका थिए।
६) एक साध्वीले आफ्नो बयानमा उनको चेम्बरमा पस्दा ढोका आफै बन्द भएको र उनी ठूलो स्क्रिनमा पोर्न फिल्म हेर्दै गरेको बताएकी थिइन्।
७) सन् २००८ मा रामरहिमविरुद्ध मुद्दा सुरु भयो। उनलाई बलात्कार र आपराधिक मुद्दा लगाइएको थियो।
८) रामरहिमले भने यी आरोप अस्वीकार गर्छन्। अदालतमा उनले आफू शारीरिक सम्बन्ध राख्न असमर्थ भएको समेत बताउँछन्।
९) उनीमाथि दुई वटा छुट्टै हत्याको केसको पनि मुद्दान चलिरहेको छ। सन् २००२ मा आफ्नै भक्त रन्जित सिहको र पत्रकार रामचन्दर छत्रपतिको। रन्जितको परिवारका अनुसार साध्वीको बेनामे पत्र फैलाएको आरोपमा उनको हत्या गरिएको थियो। ती पत्रकारले पनि बाबाको गैरकानुनी कामको बारेमा खोजमूलक रिपोर्टिङ गरेका थिए।
१०) फतेहावाद जिल्लाको टोहना जिल्लामा बस्ने हंसराज चौहानले सन् २०१२ मा उनीविरुद्ध याचिका हालेर ४ सय साधुलाई नपुंसक बनाएको आरोप लगाएका थिए। चौहानले हत्या छत्रपति हत्या प्रकरणका आरोपी निर्मल र कुलदीप पनि उनकै नपुसंक साधु भएको बताएका थिए। हत्याको आरोपमा जेलमा रहेका ती साधुहरुले आफूहरु नपुसंक भएको तर आफ्नै खुसीले भएको बयान दिएका थिए।
११) सन् २०१६ मा हास्य अभिनेता किकु शारदा (कपिल शर्माको कमेडी शोमा पनि काम गर्ने) लाई रामरहिमको नक्कल गरेको आरोपमा हरियाणा पुलिसले गिरफ्तार गरेको थियो।
१२) पहिले कांग्रेसलाई समर्थन गर्ने रामरहिमलाई सरकारले जेड प्लस सेक्युरिटीको व्यवस्था गरेको छ। सुरक्षा जोखिम रहेको भिआइपीहरुलाई यस्तो सुरक्षा दिने गरिनेछ।
१३) यिनको ६ वटा डिस्को एल्बम र पाँच वटा फिल्म सार्वजनिक भइसकेको छ। अहिले उनी आन बान शान मेरा हिन्दुस्तान नामको रियालिटी शोको सुटिङ गर्दै थिए।