PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

महोत्तरीमा बढ्यो चुनावी चहलपहल, दलहरु कार्यकर्ता भेला र उम्मेदवार छनोटमा  व्यस्त



रासस

महोत्तरीमा बढ्यो चुनावी चहलपहल, दलहरु कार्यकर्ता भेला र उम्मेदवार छनोटमा  व्यस्त

बर्दिवास : महोत्तरीमा चुनावी चहलपहल बढेको छ। असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि गतिविधि तीव्र बनाएसँगै यहाँ चुनावी चहलपहल ढेको हो। 

अहिले सबै राजनीतिक दल चुनावी तयारीका भेला, बैठक र उम्मेदवार चयनको रस्साकस्सीमा जुटेका छन्। बाढी र डुबानबाट पीडा खेपिरहेका सर्वसाधारण अहिले चुनावी टिका÷टिप्पणीमा सरिक देखिएका छन्। 

पूर्वघोषित चुनावको तालिकाले बाढी र डुबानबीच नै राजनीतिक दलका नेता, कार्यकर्ता जनताको सहानुभूति पाउन राहत वितरणका कार्यक्रम लिएर बाढी, डुबान प्रभावित बस्तीमा पुग्ने गरेका छन्। ‘चुनाव नपरेको भए आउँथे, आउँदैनथे...?’ साउन मसान्तयताको बाढीले घर छाप्रा भत्काएको जिल्लाको भङ्गाहा नगरपालिका–२ बखरी मुसहरीटोलका मदन सादाले भने– ‘जे होस्, हामी बाढीले डुबेका बेला दलका नेता, कार्यकर्ता आएका छन्, कमसेकम हामीले भोगेको पीडा त उनीहरुले आँखाभरि देखे नि त !’

अब चुनावबाट निर्वाचित हुने प्रतिनिधिले यो दुःखको निवारणमा भूमिका खेल्ने बाढीपीडितले आस संगालेका छन्। 

जिल्लामा चुनावी चहलपहलले गति लिनमा राजपा नेपालको चुनावमा सरिक हुने निर्णय महत्वपूर्ण बनेको बुद्धिजीवी बताउँछन्। 

‘सरकार र निर्वाचन आयोगले चुनावको घोषणा गरे पनि राजपाले के गछर्न् भन्ने संसय थियो’ राजनीतिक विश्लेषक कृष्णचन्द्र झाले भने,‘अब आमसर्वसाधारणमा चुनाव हुन्छ भन्ने विश्वास जागेको छ र यसले चुनावी उत्साह बढाएको छ।’

चुनावको दिन नजिकिँदै गर्दा राजनीतिक दलहरु उम्मेदवारको छिनोफानो र अन्य तयारीमा जुटेका छन्। स्थानीय तहको चुनावका लागि उम्मेदवारको निर्णय गरिसकेको नेपाली कांग्रेसले बाढी–डुबान प्रभावित बस्तीमा राहत, उद्धार कार्यक्रमसँगै चुनावी प्रचार भइरहेको जनाएको छ।

उम्मेदवारबारे यसअघि नै निर्णय भइसकेकाले आफ्नो सम्पूर्ण पार्टी घोषित उम्मेदवारलाई लिएर योजनाबद्ध चुनावी प्रचारमा लागिसकेको कांग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायले बताए। 

उम्मेदवारका नाम घोषणा हुन बाँकी रहेका केही स्थानीय तहका नाम आगामी बुधबारसम्म सार्वजनिक हुने सभापति रायको भनाइ छ। जिल्लामा नेकपा एमाले पनि बाढी डुबान बस्तीमा राहत, उद्धारका कार्यक्रमसँगै चुनावी प्रचारमा जुटेको छ। 

पार्टीले जिल्लाका सबैजसो स्थानीय तहका उम्मेदवारबारे निर्णय गरिसकेको र ती नाम भदौ दोस्रो साताभित्रै पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरिने उम्मेदवार छनोट कार्यदलका सदस्य एव्म पार्टीका केन्द्रीय सदस्य सरोजकुमार यादवले जानकारी दिए। 

यसैगरी नेकपा माओवादी केन्द्रले पनि चुनावी प्रचारप्रसारका काम योजनाबद्ध रुपले अघि बढाएको छ।

चुनावमा प्रतिस्पर्धाका लागि जिल्लाका १५ वटै स्थानीय तहका उम्मेदवारको निर्णय भइसके पनि चुनावी तालमेलको सम्भावनालाई मध्यनजर गर्दै नाम सार्वजनिक नगरिएको सो पार्टीले जनाएको छ। 

यता राजपा नेपालले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेसँगै निर्वाचन तयारीमा रहेका सबै दललाई उत्साहित बनाएको छ। 

निर्वाचनमा सरिक हुने निर्णय गरेको राजपा अहिले उम्मेदवार छनोटबारे छलफलमा जुटेको छ। यसैगरी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दिनहुँ जिल्लामा आयोजित प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रममा सरिक भइहरको छन्। 

यसबाहेक नयाँ शक्ति पार्टी नेपाल र नेकपा (संयुक्त) संयुक्त प्यानल बनाएर चुनावमा जाने तयारीमा देखिएका छन्। 

यसैगरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा, दलित जनजाति पार्टी र भर्खरै राप्रपाबाट विभाजित राप्रपा (प्रजातान्त्रिक) ले पनि आसन्न स्थानीय निर्वाचनमा दलगत तयारी अघि बढाएका छन्। 

दलहरुको आन्तरिक तयारी तीव्र रुपमा बढे बीच नै जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका छन्।

निर्वाचन आयोगको निर्देशनानुसार निर्वाचन तालिकाअनुसारका सबै काम स्थानीय तहमा सञ्चालित निर्वाचन अधिकृतको कार्यालयले सम्पादन गर्न थालेको जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell