
वासिङ्टन : अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिकाले कोरियाली प्रायद्वीपमा उत्पन्न उत्तेजक एवं हिंस्रक व्यवहारको शान्तिपूर्ण समाधान खोज्ने बताएका छन्।
अमेरिकी फक्स टेलिभिजनलाई दिएको अन्तरवार्तामा उनले पछिल्ला समयमा उत्तर कोरियाले गैरजिम्मेवारपूर्ण रुपमा हिंस्रक व्यवहार देखाइरहेको भएपनि अमेरिकाले भने त्यसको समाधान शान्तिपूर्ण रुपमा नै के कसरी गर्न सकिन्छ भनेर हेरिरहेको बताए।
उनले कोरियाली प्रायद्वीपमा शान्तिपूर्ण बाहेकको अर्को विकल्पले कसैलाई पनि फाइदा नगर्ने बताए।
अन्तरवार्ताका क्रममा उनले भनेका छन्,‘ उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा जारी राखेको क्रियाकलाप उत्तेजकबाहेक अरु केही होइन, यसले खासगरी अमेरिकालाई नै बढी तारो बनाएको देखिन्छ।’
तर उसले अमेरिकालाई तारो बनाएको भएपनि अमेरिकाले भने यसको समाधानको विकल्प शान्ति प्रक्रिया नै देखेका बताए।
विदेशमन्त्री टिलर्सनले भने, ‘हामी यसको समाधानमा लागिरहेका छौँ । हामीले चीनलाई पनि भनेका छौँ र उसका अरु सहयोगी देशलाई पनि हाम्रो अनुरोध यो छ कि जसरी सकिन्छ शान्तिपूर्ण समाधानको टेबुलमा नै बसेर गर्नुपर्छ भनेर हामी लागिपरेका छौँ।’
यसैबीच केही दिनअघिमात्र अमेरिका र दक्षिण कोरियाले दक्षिण कोरियाली राजधानी सोलमा संयुक्त सैन्य अभ्यास गरेका थिए।
सैन्य अभ्यास यी दुई देशको नियमित प्रक्रिया हो भनिएपनि उत्तर कोरियाले भने यसलाई आफूविरुद्धको उत्तेजना हो भनेको छ।
उनले सैनिक अभ्यास अमेरिका र दक्षिण कोरियाको विगत देखिकै एक नियमित प्रक्रिया भएको बताए। रासस/सिन्ह्वा