
धर्मगुरुका रुपमा स्थापित राम रहेम सिंहलाई बलात्कारको मुद्दामा १० वर्षे जेल सजायको फैसला भएको छ। हरियानाको विशेष अदालतले उनलाई शुक्रबार दोषी ठहर गरेको थियो भने आज फैसलाको सजाय सुनाउँदै १० वर्षका लागि जेल हाल्न आदेश दिएको हो।
धार्मिक गुरुका नामा ठूलो इम्पायर खडा गरेका गुरुमित राम रहिम सिंहको विशेष अदालतले जेलभित्रै सुनुवाई गरेको थियो। बलात्कार र हत्याका अभियोगमा पक्राउ परेपछि उनका समर्थकले मच्चाएको तान्डवका कारण ३८ जनाको ज्यान गयो। रोहतकमा रहेको जिल्ला कारागारभित्र बस्ने विशेष अदालतले उनलाई सजाय सुनायो। सुरक्षा व्यवस्था यति कडा पारिएको थियो कि सरकारले न्यायाधीशहरुलाई हेलिकप्टरबाट कारागार पुग्ने व्यवस्था मिलाएको थियो।
रक स्टार बाबाका रुपमा परिचित यिनको ६ वटा डिस्को एल्बम र पाँच वटा फिल्म सार्वजनिक भइसकेको छ। अहिले उनी आन बान शान मेरा हिन्दुस्तान नामको रियालिटी शोको सुटिङ गर्दै थिए। भारतीय मिडियाले उनलाई 'बलात्कारी बाबा' का रुपमा व्याख्या गर्न थालेको छ।