PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

आज गौरालाई गौरा घर भित्र्याइँदै



रासस

बैतडी :  सुदूरपश्चिममा मनाइने गौरा पर्वअन्तर्गत आज गौरालाई गौरा घरभित्र भित्र्याइँदैछ। 

आज अमुक्ताभरण सप्तमीको दिन साँझ गौरालाई व्रतालु महिलाले गौरा घरभित्र भित्र्याउने गर्छन्। 

धानको खेतमा धानसँगै उम्रिएको साउँको बोट, अपामार्गलगायतका सामग्रीसहित गौराको प्रतिमूर्ति बनाई गौराघरमा भित्र्याउने चलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए। 

व्रतालु महिलाले आज बिहानै नुहाइधुवाईपछि दिनभर व्रत बसी साँझ गौरा घरमा जम्मा भएर गौराको पूजा गर्ने चलन रहिआएको छ।

आज भित्र्याइएको गौरालाई महिलाले विभिन्न फागमार्फत आह्वानसमेत गर्ने गर्छन्। व्रतालु महिलाले आज विभिन्न पूजा सामग्री लगेर गौराको पूजा गर्ने चलन छ।

आजै व्रतालु महिलाले आफ्ना गुरुबाट दीक्षासमेत लिने गर्छन्। व्रतालु महिलाले आज कुण्ड स्नान गर्ने चलनसमेत रहिआएको छ । यस्तै व्रतालु महिलाले दुबधागो पनि आजै गौरामा चढाउने गर्छन्। आज भित्र्याइएको गौरालाई भोलि दुर्वाष्टमीका दिन गौरा खलामा लगेर पूजा गर्ने गरिन्छ। 

यसैबीच, सुदूरपश्चिमका पहाडी जिल्लामा गौराको चहलपहल बढेको छ। रोजगारीका लागि भारत गएकाहरुसमेत गौराका लागि घर फर्केपछि गाउँघरमा चहलपहल बढेको हो।

गौराको अवसरमा आजभोलि गाउँमा रातभरि ड्यौडा खेल, ठाडो खेल, ढुस्को धमारीलगायतका खेल भइरहेका छन्। यी खेलमा प्राचीन इतिहास समेटिएको संस्कृतिका जानकार चन्द्रमोहन तिवारीले बताए।

यी खेलमा देवीदेवताका गाथासँगै वीरपुरुषका इतिहाससमेत समेटेको पाइन्छ। तर यी संस्कृतिका विषयमा युवा पुस्ताका ध्यान नजाँदा संस्कृति नै लोप हुने अवस्थामा पुगेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell