काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनमा कसैको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। छिमेकी मुलुक भारतको पाँच दिने राजकीय भ्रमण पूरा गरी हिजो मात्र स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले संसद्मा आफ्नो भ्रमणबारे जानकारी दिँदै यस्तो बताएका हुन्।
संसदमा प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणका विषयमा केही राजनीतिक दल र मिडियाले गरेका टिप्पणीप्रति ध्यानाकर्षण भएको बताए।
'मेरो भ्रमणको मुख्य उद्धेश्य छिमेकी मुलुकसँग समझदारी कायम गर्दै दुई देशको सम्बन्धनमा विश्वास बढाउने हो,' प्रधानमन्त्री देउवाले भने, 'त्यसमा मेरो भ्रमण सफल भएको छ।'
प्रधानमन्त्री देउवाले भारत भ्रमणका विषयमा नेपालका सबै असन्तुष्ट पक्षलाई पनि विश्वासमा लिएर जाने विषयमा कुराकानी भएको भन्दै त्यसक्रममा संविधान संशोधनको विषयमा पनि कुराकानी भएको बताए।
संसदमा देउवाले भने, 'सभामुख महोदय, नेपालको संविधान संशोधनको विषय नितान्त नेपाली जनताका आन्तरिक विषय हो, यसमा कसैसँग सम्झौता गरेको छैन र हुन पनि सक्दैन।'
उनले नेपालका संसदले गरेका विषयमा नेपालको प्रधानमन्त्रीले बोल्दा त्यसले राष्ट्रको शिर निहुराउने कुरा पनि उचित नभएको बताए।
उनले संविधान संशोधन यहाँको आवश्यकता भएको भन्दै त्यसमा कसैको हस्तक्षेप पनि स्वीकार्य नहुने बताए। 'संविधान संशोधन नेपाल र नेपाली जनताको विषय भएकाले यसमा कसैको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप स्वीकार्य हुँदैन,' प्रधानमन्त्रीले भने, 'त्यसले त्यस्ता विषयमा कसैसँग सम्झौता हुन सक्दैन। सबै काम नेपाली जनतामार्फत् नै हुन्छ भन्ने कुरामा म सम्मानित सदनलाई आश्वस्त पार्न चाहन्छु।'
'संविधानको सर्वस्वीकार्यता र संविधानको कार्यान्वयन गर्नु हाम्रा राष्ट्रिय अजेन्डा हुन्। राष्ट्रिय प्राथमिकताका अजेन्डाबारे राष्ट्रिय अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु अस्वभाविक विषय हैन,' प्रधानमन्त्री देउवाले भने, 'नेपालको शान्ति प्रक्रिया र लोकतन्त्रको संक्रमणमा सघाई आएका छिमेकी वा मित्रराष्ट्रबाट पछिल्लो राजनीतिक घटनाबारे जिज्ञासा राख्नुलाई नाजायज भन्न मिल्दैन।'