
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र’बाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप लगाएका छन्।
पार्टीले आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले तत्कालीन राप्रपा नेपाल तथा राप्रपाबीच भएको एकीकरणपछि मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माण हुन लागेकामा त्यसलाई अवरोध गर्ने उद्देश्यबाट पार्टीका केही नेतालाई साथ लिएर विभाजन गराइएको आरोप लगाए।
नेपालमा आफ्नो अनुकूल गठबन्धन बनाएर विभिन्न प्रभावमा राख्न चाहने शक्ति अहिले सक्रिय रहेको बताउँदै थापाले पार्टी विभाजनका लागि केन्द्रीय सदस्य तथा संसदीय दलको न्यूनतम ४० प्रतिशत आवश्यक हुने भएपनि आफ्नो दलमा त्यो नियम लागू हुन नसकेको बताए।
अध्यक्ष थापाले ‘निर्वाचन आयोगले दल विभाजनका लागि गरेको निर्णय त्रुटिपूर्ण रहेकाले न्याय प्राप्त गर्न आफूहरुले अदालतमा रिट दर्ता गराएको बताए।
उनले ‘प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा विनाप्रसंग संविधान संशोधनको विषयमा अभिव्यक्ति दिएकाले’ मुलुकको स्वाभिमानमा धक्का लागेको दाबी गरे। रासस