PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

भारतमा उपचार गराइरहेकी क्यान्सरपीडित प्रियालाई नेपालबाट ५ लाख ८५ हजार सहयोग



पहिलोपोस्ट

भारतमा उपचार गराइरहेकी क्यान्सरपीडित प्रियालाई नेपालबाट ५ लाख ८५ हजार सहयोग

काठमाडौं : विगत छ महिनादेखी भारतको राजिव गान्धि क्यान्सर अस्पतालमा उपचारत आरुघाट–२ मान्वु गोरखाकी प्रिया गुरुङलाई ५ लाख ८५ हजार नगद सहयोग प्रदान गरिएको छ।

आर्थिक संकलन अभियानकी नेतृत्वकर्ता आरुघाट–२ मान्वु गोरखाकी बविता गुरुङले क्यान्सर पीडित प्रियाकी आमा कन्या कुमारी गुरुङलाई आइतबार पोखरामा संकलित रकम हस्तान्तरण गरिएको हो। 

आरुघाट-२ मान्वु गोरखा घर भएकी १९ वर्षिय प्रिया पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिइन्। करिब छ महिना अघि खुट्टा दुखेपछि प्रियालाई सुरुमा उनकी आमाले पोखराको फेवासिटी अस्पतालमा लगिन् तर फेवासिटीले गण्डकी मेडिकल कलेजमा  रिफर गरिएपछि उनलाई नसा सम्बन्धि क्यान्सर भएको पत्ता लागेको थियो।

सोही अस्पतालकै सुझावको आधारमा प्रियालाई उपचारको लागि भारत लगिएको उनकी आमा कन्यामायाले बताइन्। उनका अनुसार प्रियाको उपचारको लागि करिब ३२ लाख नेपाली रुपैंया लाग्ने छ। उनले भनिन् 'धेरैले सहयोग गरिरहेको छ, यसरी सहयोग नपाएको भए उपचार सम्भव थिएन।'

प्रियाको बुबा सुर्य बहादुर गुरुङको मुख्य पेसा ट्रेकिङ हो। तर उनी पनि ६ महिना देखी छोरीको उपचारको लागि भारतमै बस्नुपर्दा उपचारको लागि आर्थिक अभाव भएको हो।

आर्थिक संकलन अभियानकी नेतृत्वकर्ता बविता गुरुङले आर्थिक अवस्था अत्यन्तै कमजोर भएको र युवा अवस्थामा नै आर्थिक अभावले ज्यान जान लागेकोले आफुले केही गर्न सकिन्छ कि भनेर रकम संकलन अभियानमा जुटेको बताइन्। बविता त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एमएस्सी अध्ययनरत छिन्।

फेसबुकमार्फत रकम संकलन अभियान शुरु गरेकी बविताले उक्त रकम जुटाउन देश तथा बिदेशमा बस्ने नेपालीहरुले सहयोग गरेको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell