PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

एमालेका शीर्ष नेताहरु वीरगञ्जमा, प्रदेश नम्बर २ को निर्वाचनको रणनीति बनाउँदै



राधेश्याम पटेल

एमालेका शीर्ष नेताहरु वीरगञ्जमा, प्रदेश नम्बर २ को निर्वाचनको रणनीति बनाउँदै

वीरगञ्ज : आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तहको  निर्वाचनका लागि पार्टीको रणनीति बनाउन नेकपा एमालेका शीर्ष नेताहरु वीरगञ्जमा छन्।

नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपालसहितको शीर्ष नेताहरु सम्मिलित टोलीले पार्टीको २ नम्बर प्रदेशको चुनावी रणनीति तय गरिरहेको छ।

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, प्रदेश न २ का संयोजक सत्यनारायण मण्डल, उपसंयोजक नागेन्द्र चौधरी, राजेन्द्र पाण्डे, रघुवीर महासेठ लगायतका नेताहरु पनि वीरगञ्जमै छन्। जारी चुनावी रणनीति बैठकले मधेशका आठ जिल्लाका १ सय ३६ स्थानीय तहको उम्मेदवारको टुंगो लगाउन अन्तिम तयारीमा जुटिरहेको नेकपा एमाले प्रदेश नम्बर २ का उपसयोजक नागेन्द्र चौधरीले जानकारी गराए ।

कुप्रचार गर्दैमा एमाले मधेश विरोधी नहुने : माधव नेपाल
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेशबाट जन्मिएको एमाले कुप्रचार गर्दैमा मधेश विरोधी नहुने बताएका छन्।

एमालेप्रति मधेशका जनताको विश्वास कायम रहेको उनले दावी गरे। एमालेको सरकारले नै मधेश र काठमाण्डौ जोडने फास्ट ट्रयाक सडक , हुलाकी राजमार्ग , जनता अवास योजना, नीजगढ अन्तराष्ट्रिय विमानस्थल, वृद्ध, एकल महिला, दलित लगायतको सुरक्षा भत्तालगायतको कार्यक्रम तथा विकास योजना ल्याएको एमाले नेता नेपालले चर्चा गरे।

 सोमबार पर्साको पर्टेवासुगौली गाउँपालिकाको देउरियामा सम्पन एमालेको आम सभालाई सम्बोधन गर्दै नेता नेपालले मधेशकेन्द्रित केही दलले एमालेको उपलब्धिबाट हतास भएर एमालेविरुद्ध लागेको बताए ।

तराई मधेसको विकास र समृद्धिमा एमाले प्रतिवद्ध रहेको हुदाँ जनता भ्रममा नपर्ने  उनको भनाई थियो।

नेता नेपालले स्थानिय  भोजपुरी भाषमा ४५ मिनेट सम्बोधन गर्दा आमसभाका सहभागीहरु उत्साहित देखिएका थिए। पर्टेवासगौली गाउँपालिकाका एमाले संयोजक फरमान मिया अंसारीको सभापतित्वमा भएको कार्यक्रममा पर्साका संसदहरु राजकुमार गुप्ता, रामचन्द्र साह, जयप्रकाश थारु, एमाले नेताहरु प्रभु हजरा, चिरञ्जीवी आचार्य, वीरगंजका मेयरका उम्मेदवार बसुरुदिन असारी, थारु कल्याणकारी कार्य समिती पर्साका अध्यक्ष हेमनरायण चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell