विराटनगर: पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भद्रगोल संगठनका कारण स्थानीय तह निर्वाचनमा अपेक्षित जित हासिल गर्न नसकेको बताएका छन्। प्रदेश नम्बर १ को कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले संगठन सुधारका लागि अब माथिल्लो तहबाटै शुद्धीकरण अभियान सुरु गरेको पनि बताएका छन्।
प्रदेश नम्बर १ को पार्टी प्रशिक्षणमा अध्यक्ष प्रचण्डले भने ‘हामीले विचार, राजनीति र नेतृत्वमा त जित्यौं। तर, संगठन र चुनावी परिणाम जित्न सकेनौं, त्यसको मुख्य कारण भद्रगोल संगठन हो। अब हामीले माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं। हिजो मात्रै केन्द्रीय कार्यालयलाई भङ्ग गरेर सचिवालयलाई कार्यकारी बनाएका छौं, अब चुस्त संगठन बनाएर अघि बढ्छौं।’
प्रशिक्षणमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रबाट अलग हुने शक्तिहरुलाई जनताले नरुचाएको बताए। जनमतले सबै दलहरुलाई मिलेर अघि बढ्न सुझाव दिएको भन्दै प्रचण्डले एकता नभए फुटेर जानेहरुको भविश्य नभएको पनि बताए।
उनले ११ वर्षपछि मधेसमा जागरण आएको बताउँदै गौर हत्याकाण्ड घटाएर मधेसमा माओवादीलाई संघीयता विरोधी भन्ने भ्रामक प्रचार गरिएको समेत बताए।
प्रशिक्षणमा नेता नारायणकाजी श्रेष्ठले क्रान्तिका उपलब्धि कुनै पनि हालतमा उल्ट्याउन नदिने बताए। प्रशिक्षणमा नेता श्रेष्ठले भने ‘संविधान जारी भए पनि प्रतिगमनले टाउको उठाउने खतरा थियो। हाम्रो नेतृत्वमा बनेको सरकारले संविधान कार्यान्वयनलाई गुणात्मक गति दियो। स्थानीय तह बनेर स्थानीय चुनाव भयो। अब सजिलै परिवर्तन उल्ट्याउन सक्ने अवस्था छैन।'
नेता रामबहादुर थापा बादलले आफूहरुले साम्यवादी मार्गचित्र नभुलेको बताए। गणतन्त्र, तथा संघीयतालाई संस्थागत गरेर समृद्धितिर लाग्ने उनले बताए। प्रशिक्षणमा प्रदेश नं. १ का इन्चार्ज गोपाल किरातीले बिना अक्सिजन सगरमाथा चढ्ने आँट गर्न कार्यकर्तालाई अपिल गरे। दुई चरणको स्थानीय तह निर्वाचनमा सोचे अनुसार जित्न नसके पनि प्रदेश र केन्द्रको निर्वाचनमा राम्रो नतिजा आउने किरातीले दाबी गरे।