
- नारायणप्रसाद न्यौपाने
काठमाडौं उपत्यकालाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो ७६ दशमलव २ किलोमिटरको राष्ट्रिय गौरवको यो आयोजना (फाष्ट ट्रयाक) निर्माणलाई सेनाले सबैभन्दा उच्च महत्व दिएर काम अघि बढाएको छ।
चारवर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो ठूलो आयोजनाको निर्माण लागत एक खर्ब १२ अर्ब अनुमान गरिएको छ। द्रुतमार्ग २५ मिटर चौडाइको हुने जनाएको छ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले यो द्रुतमार्ग निर्माणमा १० अर्व १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सडक निर्माणका लागि नेपाली सेनाले १० स्थानमा कम्तीमा पनि प्रत्येक क्याम्पमा १०० जना प्राविधिक जनशक्ति र आवश्यक उपकरणसहित सेना तैनाथ गर्ने कार्य सुरु गरिसकेको छ।
दु््रतमार्ग निर्माणपछि तराई–मधेसबाट काठमाडौँ डेढ घण्टामा आइपुग्नका साथै काठमाडौँ उपत्यकामा ल्याइने पेट्रोलियम पदार्थको ढुवानीमा मात्रै पनि वार्षिक करिब १० अर्ब बचत हुने जनाएको छ।
द्रुतमार्गको निर्माण समयमै पूरा गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्व र प्रधानसेनापतिको अध्यक्षतामा बेग्लाबेग्लै निर्देशन तथा अनुगमन समिति गठन गरिएको छ।
छिमेकी मुलुक चीन र भारतलाई जोड्ने रणनीतिक महत्वको ट्रान्जिट मार्गको रुपमा रहने यो मार्गमा डेढ किलोमिटर लामो सुरुङ र ९९ वटा पुल रहने छन्। यो मार्गको ट्रयाक पनि नेपाली सेनाले नै खनेको हो।
नेपाली सेनाले आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको पनि सहयोग लिएर सडक निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेको छ।
नेपाली सेनाले हालसम्म मुलुकका २८ वटा सडक निर्माणको जिम्मेवारी पूरा गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ।
ती सडकको लम्बाइ एक हजार १०० किलोमिटर भएको नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक उद्धव विष्टले जानकारी दिए।
नेपाली सेनाले ओखलढुंगा–कटारी, सुर्खेत–जुम्ला, बेँसीसहर– चामेजस्ता २८ वटा सडक तोकिएको मिति अगाडि नै निर्माण पूरा गरेको थियो। मुलुकका विभिन्न स्थानमा सेनाले २८ वटा बेलिबृज जडान गरिसकेको छ।
कठिन भूबनोट, भौगोलिक विकटता, प्रतिकुल मौसम, हवाई साधनमा मात्र निर्भरता, पहुँच मार्गको कठिनाइजस्ता चुनौतीको सामना गर्दै नेपाली सेनाले खनेका सडक सामारिक र रणनीतिक हिसाबले निकै महत्वपूर्ण रहेको प्रमुख सेनानी इन्दिवर गुरुङले जानकारी दिए।
नेपाली सेनाले खनेका सडक गुणस्तरीय र कम लागतका हुने तथा तोकिएको समयसीमाभित्रै पूरा हुने भएकाले पछिल्लो समय सरकारले नेपाली सेनालाई त्यसको जिम्मेवारी थप गर्दै गएको हो।
नेपाली सेनाले अहिले पाँचवटा सडक निर्माण गरिरहेको र त्यसको लम्बाइ ५२५ किलोमिटर रहेको प्रमुख सेनानी गुरुङले बताए।
द्रुतमार्ग निर्माणको विषयलाई राजनीतिक दलहरुले राष्ट्रियताको मुद्दासँग जोडेर विवाद र बहस चलाएपछि सरकारले उक्त सडकको जिम्मेवारी नेपाली सेनालाई दिएसँगै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठ १४ गते बाराको निजगढमा शिलान्यास गरेका हुन्।
ललितपुरको खोकनाबाट सुरु भई बाराको निजगढमा पुगेर पूर्व पश्चिम राजमार्गमा जेडिने उक्त मार्गको ट्रयाक खोल्ने काम २०७० सालको प्रारम्भमै पूरा गरेको थियो।
बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलले यो सडकको महत्वलाई अझ उजागर गर्ने छ। विश्व शान्ति स्थापना कार्यको ६० वर्षको यात्रामा द्वन्द्वग्रस्त मुलुकका जनताको मन जितेर पिस च्याम्पियनको छवि बनाएको नेपाली सेनाले द्रुतमार्ग निर्माणसँगै सडक पूर्वाधारण निर्माणमा पनि कीर्तिमान कायम गर्ने अभियानमा जुटेको छ। रासस