
बैतडी : बैतडीमा स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै गएको छ। स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढेको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक जनक साउदले बताए।
गतबर्ष पुस ७ गतेदेखि बैतडीमा स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु भएकोमा २०७३ फागुनबाट सेवा दिने काम सुरु भएको थियो।
हालसम्म तीनहजार २७ जनाले स्वास्थ्य बीमा गरेका साउदले जानकारी दिए । पाँच जनासम्मको परिवारले दुईहजार ५०० तिरेमा ५० हजारसम्मको उपचार निःशुल्क गर्ने गरिएको छ।
सूचीकृत अस्पतालमा मात्रै निःशुल्क उपचार हुने उनले बताए। पाँच जनाभन्दा बढी संख्या भएको परिवारका लागि ४२५ का दरले थप शुल्क लाग्ने बताइएको छ।
जिल्लामा स्वास्थ्य बीमा गरेकामध्ये ३२७ जनाले सेवासमेत लिइसकेका छन्। स्वास्थ्य बीमाअन्तर्गत सुरुमा ५३० प्रकारका औषधि निःशुल्क रुपमा दिने व्यवस्था गरिएको भएपनि अहिले ९२८ प्रकारका औषधि निःशुल्क प्रदान गर्ने गरिएको साउदले बताए।
स्वास्थ्य बीमाका लागि जिल्लाभरि दर्ता सहयोगी रहेको सामाजिक सुरक्षा विकास समिति बैतडीले जनाएको छ।
अल्ट्रासाउण्ड सेवापछि मातृ मृत्युदरमा कमी
यसैबीच, बैतडीमा चार ठाउँबाट गर्भवतीका लागि अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएपछि मातृ मृत्युदरमा कमी आएको छ।
अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएसँगै गर्भवतीको अवस्थाका बारेमा जानकारी पाइने भएकाले मातृ मृत्युदरमा कमी आएको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोदकुमार कुँवरले जानकारी दिए।
अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएसँगै गर्भवतीमा देखिने जटिलताका बारेमा समयमै थाहा हुने र सुविधा सम्पन्न अस्पतालमा रिफर गर्न सकिने भएकाले मातृ मृत्युमा कमी आएको उनले बताए।
हाट स्वास्थ्य चौकी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालबाट अल्ट्रासाउण्ड सेवा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन्।
ग्रामीण क्षेत्रमा गर्भवतीका लागि अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएपछि आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि सजिलो भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट मुकेश दयालले बताए।
पैसाको अभावमा टाढा गएर गर्भवतीको अवस्थाका बारेमा जाँच गराउन नसक्ने नागरिकका लागि ग्रामीण अल्ट्रासाउण्ड बरदान सावित भएको उनले बताए।
अहिले हाट, पाटन, मेलौली मात्रै महिनाको ६० भन्दा बढी गर्भवतीले अल्ट्रासाउण्ड सेवा लिइरहेका छन्। तीमध्ये महिनामा कम्तीमा तीन÷चार जनालाई रिफर गर्नुपरिरहेको हाट स्वास्थ्य चौकीका इन्चार्ज कुँवरले बताए। रासस