
काठमाडौँ : नेकपा माओवादी केन्द्रले मर्यादित तवरले आन्तरिक प्रतिस्पर्धा गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।
पार्टी प्रवक्ता पम्फा भुसालले आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयनको विषयलाई अनावश्यकरुपमा नतन्काउन र अमूक नेता तथा समूहको नाम लिएर प्रचारप्रसार नगराउनसमेत आग्रह गरिएको जानकारी दिइन्।
माओवादी केन्द्रको सचिवालयले क्रान्तिकारी विद्यार्थीलाई स्वच्छ, मर्यादित भएर प्रतिस्पर्धा गर्न इन्चार्ज हितमान शाक्य र निर्वाचन परिचालन समितिका संयोजक रमेश मल्ललाई जिम्मा दिएको छ।
प्रवक्ता भुसालले विद्यार्थीको नेतृत्व चयनमा कोही पनि पार्टीको आधिकारिक र अनाधिकारिक नरहेको र सबै विद्यार्थी नेता तथा कार्यकर्ता पार्टीका लागि समान रहेको विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।
क्रान्तिकारीको आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ। सहमतिका आधारमा नेतृत्व चयन प्रक्रिया अगाडि बढ्न नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको निर्वाचन समितिका संयोजक मल्लले बताए।
अध्यक्षमा रञ्जित तामाङ, मदन अर्याल र अनिल शर्माले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। सबै उम्मेदवारलाई बन्दशत्रमा १०/१० मिनेट बोल्न दिएर मत माग्ने व्यवस्था गरिएको छ।
पर्चा, पम्प्लेटबाट प्रचारप्रसार गर्न रोक लगाइएको छ। उम्मेदवारको नामावली प्रकाशन गर्ने र निर्वाचन प्रक्रिया सुरु गर्ने तयारीमा निर्वाचन समिति लागेको छ।
संयोजक मल्लले केहीबेरपछि मतदान सुरु हुने जानकारी दिए। यसअघि सहमतिमा नै नेतृत्व चयन हुँदै आएको क्रान्तिकारीमा यसपटक भने निर्वाचन हुन लागेको हो। रासस