PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

मधेश, मधेशवाद : राजनीतिको बिकाउ जिनिस हुन छोडेकै हो ?



सूर्य खड्का

 मधेश, मधेशवाद : राजनीतिको बिकाउ जिनिस हुन छोडेकै हो ?

  • सूर्य खड्का

२०७२ असार अन्तिम साता मधेशी राजनीतिक पार्टीहरु मधेश आन्दोलनको औपचारिक नेतृत्व गर्दै मधेश झरेका थिए । तर, झण्डै आधा दर्जन तराई केन्द्रीत पार्टी काठमाडौंमा नै  थिए । त्यसमध्येमा सबैभन्दा उग्र पार्टी सद्भावना थियो । अनि उग्र क्रान्तिकारी नेता थिए, यसै दलका अध्यक्ष राजेन्द्र महतो ।
 
महतोको पार्टी बाहेक महन्थ ठाकुरको तराई मधेश लोकतान्त्रिक र उपेन्द्र यादवको संघीय समाजवादी फोरम पार्टी पनि निकै उग्र थिए । यी पार्टीले जारी हुन लागेको संविधानको चर्को आलोचना गरेका थिए । यस समयमा शरतसिंह भण्डारी, महेन्द्र यादव, अनिल झा र राजकिशोर यादवका साना पार्टी पनि सोही मोर्चामा थिए ।

यी मधेशी पार्टीका बलियो भरोसा थिए कांग्रेस नेता अमरेश सिंह । सिंहले संविधानमा मधेशको प्रतिनिधित्व गराउने नाममा मधेशी दलहरुसँग कुम जोडेर आन्दोलन गरेका थिए । कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते मानवता विरोधी काम खुलेआम गरिएको थियो । त्यसको बिउ राजेन्द्र महतो, उपेन्द्र यादव, अमरेश सिंह लगायतका नेताले केही दिन अघिको सम्बोधनमा नै रोपेका थिए ।

यसबीच मधेश आन्दोलनको नाममा देशले नाकाबन्दी भोग्न पर्‍यो । देशले ५० बढी निर्दोष नागरिक गुमायो । करिब २ वर्ष मधेश अशान्त रहयो । यसका कैयन दुःखद परिदृष्यहरु मान्छेका मष्तिष्कमा ताजै छन् । 

२०७४ भदौ पहिलो साता अन्तसम्म आइपुग्दा ती सबै मधेशी दलहरु एकादेशका कथा भैसकेका छन् । अमरेशकुमार सिंहले टीकापुर घटनाको एक वर्ष नपुग्दै आफूलाई पार्टीको असल आज्ञापालकमा रुपान्तरित गरे । अझ, २०७३ मा सिंहले बिबिसी नेपाली सेवासँगको अन्तर्वार्तामा नेपालमा संघीयता नै आवश्यक नभएको बताए । उनले मधेशवाद नारा भारतका लागि घातक भएको पनि खुलासा गरे ।

त्यस बेलाका आधा दर्जन मधेशी पार्टी अहिले एक भएका छन । महन्थ, राजेन्द्र, महेन्द्र, राजकिशोर, शरतसिंह र अनिल झाले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन गरे । अहिले यो पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । निर्वाचन आयोगमा पनि दल दर्ता गरिसकेको छ । अहिले दुई  नम्बर प्रदेशको २ असोजमा हुन लागेको चुनावले सबैभन्दा बढी राजपालाई नै तताएको छ ।

यहाँ सानो लाग्ने तर महत्वपूर्ण कुरा के छ भने राजपाले पार्टीको नाम क्षेत्रीयता वा मधेश झल्कने गरी राखेनन् । भारतको भारतीय जनता पार्टी (भाजपा)को फोटोकपी जस्तो लाग्ने राष्ट्रिय जनता पार्टीको नाममा मधेश शब्दावली छैन । झण्डामा पनि भाजापाको झल्को दिने रंग र संकेत छ, मधेशको संकेत छैन । चुनाव चिन्ह छातामा उनीहरुको जोड छ । यस चिन्हलाई निर्वाचन आयोगले मान्यता दिन बाँकी छ ।

राजपा मधेशी पार्टीको दायराबाट नामसँगै माथि उठ्यो । त्यसअघि नै उपेन्द्र यादवले आफ्नो पार्टीको नामबाट मधेश शब्द हटाएका थिए । अशोक राई लगायत एमालेका असन्तुष्ट जनजाति नेताहरुको संघीय समाजवादी पार्टीसँग एकता माहौलामा यादवले मधेशी जनाधिकार फोरमको नाम संघीय समाजवादी फोरम बनाए । त्यसपछि मधेश शब्द उनको दलको नामबाट मेटियो ।

केही महिनाअघि चुनावको मुखमा विजयकुमार गच्छेदारको दल मधेशी जनाधिकार फोरम गणतान्त्रिकले पनि आफ्नो दलको नामबाट मधेश शब्द हटायो ।  त्यसपछि लोकतान्त्रिक फोरम नेपालमा उसले चुनावी प्रतिस्पर्धा गर्‍यो । राजकिशोर यादवको मधेशी जनधिकार फोरम गणतान्त्रिक राजपामा विलय हुुँदा सखापै भयो ।

मूलतः पहिलो संविधान सभा चुनावपछि दलहरु मधेश राजनीतिको नेतृत्व लिने होड नै चल्यो । यस क्रममा महन्थ ठाकुरले कांग्रेसको सजिलो, सम्मानित र सुरक्षित राजनीति त्यागेर तमलोपा बनाए । सर्वेन्द्रनाथ शुक्ल र रेणु यादव जस्ता आफैमा स्थानीय प्रभाव बलियो भएका तत्कालीन राप्रपा नेताहरु पनि महन्थको मधेश ब्रान्डको राजनीतिका सारथी बने ।

हृदयेश त्रिपाठी तराई मधेशका पुराना र अग्ला नेता थिए । तर, उनले पनि महन्थलाई नेता मानेर मधेशवादी राजनीतिमा नयाँ रंग भर्न केही वर्ष मेहनेत गरे । कांग्रेसका एक शक्ति केन्द्र विजयकुमार गच्छेदारले उपेन्द्रको पार्टी फोरम हुँदै मधेशवादी राजनीतिमा हामफाले, पछि आफै नाईके भएर आन्दोलन नगर्ने तर सत्ता नछोडने मधेशी दल बनाए ।

यता माओवादीका पूर्व नेता तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले असोज ३ गते संविधान जारी भए लगत्तै तराई मधेश झरे । आफ्नै नेतृत्वको राजनीतिक संवाद तथा सहमति समितिले तयार गरेको संविधान जलाउने क्रान्तिकारी विरोध यात्राको नेतृत्व गरे । उनको नयाँ शक्ति जन्माउने र असोज ३ लगत्तै तराई मधेश झरेर संविधान जलाउने दौडाहाको एकै लक्ष्य थियो- नयाँ मधेशी मसिहा बनेर राष्ट्रिय राजनीतिमा हावी हुने ।

माओवादी छाडेर नयाँ शक्तिमा लागेका पुराना एमाले नेता रामचन्द्र झा हुन् वा रामकुमार शर्मा लगायत अन्य कैयन नेताहरु कट्टर मधेशवादी नयाँ मसिहा बन्ने लोभमा पार्टी बदल्नेको मुख्य पात्र बने । प्रचण्डलाई मधेश विरोधी गर्दै माओवादी छोडेका मातृका यादवहरु उहिल्यै मूलघर फर्किसकेका हुन् ।

पहिलो संविधान सभामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन फोरमले एनजिओबाट रातारात संविधान सभाको चौथो ठूलो दल बन्यो । मधेशी नाममा पार्टी खोल्ने, बहकिएर मधेश एजेण्डामा सबैभन्दा उग्र क्रान्तिकारी देखिने र काम, व्यवहार वा संस्कार जेसुकै होस् नाममा मधेश शब्द झुण्डाउने अघोषित होड नै चल्यो ।

यो होडबाजी पछिल्ला दिनमा फेरि क्रम भंगताको सुनामी ज्यादै बढ्यो अस्वभाविक शैलीमा । अहिले मधेश शब्द नामका पार्टी एकादेशका कथा भैसकेका छन् । विधान, दस्तावेज र पार्टी नीतिहरुमा जे सुकै लेखिए पनि अहिले केही समयसम्म क्रान्तिकारी मधेशी दलहरुलाई अब पुनःराष्ट्रिय पार्टी बन्ने भोक जागेको देखिन्छ । पार्टी नामबाट मधेश शब्द गायब गराउने उपेन्द्र, राजेन्द्र र विजयकुमार गच्छेदारहरु यसका ताजा उदाहरण हुन् ।

मधेशी मुद्दाको ओत लागेर राष्ट्रिय राजनीतिको वैतरणी तर्न नसक्ने तथ्य बोध भएरै होला अमरेशकुमार मूल घरकै ज्ञानी सदस्य भैसकेका छन् । नयाँ शक्तिको मधेश मिसन विघटन उन्मुख नयाँ शक्तिका संयोजक डा. भट्टराईको गलित, थकित अवस्थाले पराजित भएको प्रमाणित गर्दै गैरहेको छ ।

पछिल्लो आफ्नो एक लेखमा मधेश मामलाका जानकार पूर्वपत्रकार तुलानारायण साहले मधेश आन्दोलनलाई भेन्टिलेटरमा रहेको बिरामीको संज्ञा दिएका छन् । मधेश आन्दोलनका कडा पक्षपाती र निरन्तर आन्दोलनका लागि कामना गरिरहेका शाह वा उनी भन्दा पनि उग्र चिन्तक तथा विश्लेषक सीके लालको हेराईमा मधेशी दलहरु संविधान स्वीकार्यताको लाइनमा आउनुले मधेश आन्दोलनको मर्म र भावनाको प्रतिनिधित्व गरिरहेको छैन । 

सीके लालहरुले गर्ने तर्कहरुमा आफ्नै दम होलान् । तर आजको नेपाली राजनीतिको धरातलीय यथार्थ हो की अब कट्टरपन्थी मधेशवादको घेरा साँघुरिएर सुक्दै गएको हो । उदार राष्ट्रिय स्तरको राजनीतिक चिन्तनले उनीहरुमा स्थान लिँदै गएको छ ।
 
संविधान बन्नु अघिदेखि संविधान जारी भई लागू हुँदै गैरहेको वर्तमान परिप्रेक्ष्यमा उग्र मधेशवादीहरु क्रमशः संविधान संसोधनको पराजय स्वीकार गर्न पनि राजी भए । अहिले भदौ ५ मा उनीहरुले संविधान संसोधनका पक्षमा गरेको मतदान र स्वीकार गरेको परिणामका आलोकमा उनीहरु संविधानका असन्तुष्ट हिस्सा बनिसकेका छन् । 

जसरी तत्कालिन एमालेले २०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन गरेको थियो । अहिले मधेशवादी दलरुहरुको संविधान प्रतिको हेराई र अवस्था पनि २०४७ को संविधानप्रतिको एमाले हेराई जस्तै तहमा बदलिएको छ ।

राजपाको केन्द्रीय पदाधिकारी र अध्यक्ष मण्डलका बैठकका निर्णयबारे जानकारी गराउन केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसदबाट प्राविधिक रुपमा असफल भए पनि आफ्ना अधिकार र पहिचान स्थापित गर्न आगामी दिनमा हुने सबै निर्वाचनमा भाग लिने निर्णय भएको बताए । उनको मधेश मुद्दा ज्यूँदै रहेकाले संघर्ष जारी राख्ने चाहना रहेको सहजै बुझ्न सकिन्थ्यो ।

यी परिवशेहरुले के देखाउँछ भने अब मधेशवाद राजनीतिको बिकाउ बिजनेस हुन सकेन । कुरो र कुलो जता लगे पनि हुने भने शैलीमा अब मधेशवादीहरु संविधान स्वीकार्यताको परिधिमा आउँदै गर्दा राष्ट्रिय राजनीतिलाई केन्द्रमा राख्ने गरी परिवर्तित हुँदै जान थालेका छन् । जसरी हतियारको बलमा दशक लामो हिंसात्मक युद्धका बाबजुद तत्कालीन माओवादी देश बदल्ने उद्घोषका बीच अन्ततः आफै बदलिएको थियो । त्यही शैलीमा कट्टर उग्रपन्थी मधेशवादीहरु अब बदलिँदै जान थालेका छन् । देशलाई क्षेत्रीय, वर्गीय र निश्चित जात, भूगोल आदिको राजनीतिबाट माथि उठाउन मधेशवादीहरुको यो स्तरको परिवर्तन यसै मानेमा सही हुन सक्ला ?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell