
काठमाडौँ : राष्ट्रिय धर्मसभा नेपालले देशभरका पण्डितहरु भेला गरेर आयोजना गरेको चतुर्थ पण्डित सम्मेलनले तीन वा पाँच दिने अाशौच (मृत्यु संस्कार) को हल्ला फैलाउनेलाई बहिष्कार गर्ने निर्णय गरेको छ।
राजधानीमा दुई दिन चलेको सम्मेलनले १५ बुँदे घोषणापत्र जारी गर्दै सनातन हिन्दू धर्मानुयायीहरुले अनुसरण गर्दै आएको धर्मशास्त्रीय परम्परागत प्रमाणिक मान्यता अनुसार नै जननाशौच र मरणाशौच बार्ने र त्यसमा हलचल नगर्ने निर्णय गरेको हो।
त्यस्तै, सम्मेलनले सबै स्थानीय निकायमा सनातन धर्म संस्कृति सम्वन्धि काम गर्ने संगठन निर्माण गर्नका लागि एक एक जना पण्डितलाई संयोजक तोक्ने र त्यसका लागि बजेटको व्यवस्था गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।
सम्मेलनले देशभरका पुरोहित पण्डितहरुको तथ्यांक संकलन गर्ने र समाजमा पुर्याएको योगदान झल्कने गरी पण्डित डाइरेक्टरी प्रकाशन गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी सार्वजनिक स्थलमा कार्य गर्ने पण्डित पुरोहितहरुलाई परिचय पत्र वितरण गर्ने र आवश्यक प्रशिक्षणको व्यवस्था गर्ने निर्णय पनि सम्मेलनले गरेको छ।
सम्मेलनले पण्डित आचार संहिता पनि बनाउने र त्यसको कडाइका साथ अनुगमन गर्ने निर्णय गरेको छ।
सनातन धर्म, संस्कार र संस्कृतिको मूल संस्कृत शिक्षा भएकाले त्यसको संरक्षणका लागि विद्यालयस्तरमा कम्तिमा एकपत्र संस्कृत विषय राख्न पहल गर्ने निर्णय गरेको छ ।
सम्मेलनले भूकम्पबाट क्षति भएका धार्मिक संरचनाहरुलाई पूर्ववत अवस्थामा ल्याउन सरकारको ध्यानकर्षण गराउने निर्णयसमेत गरेको छ।