
काठमाडौं : नेपाल सरकारले पहिलो पटक अन्तर्राष्ट्रिय पदक दिलाउन सफल नेपाली पुरुष राष्ट्रिय भलिबल टिमका प्रत्येक खेलाडीलाई बुधबार नगद प्रदान गर्ने भएको छ।
माल्दिभ्समा तीन महिना अघि भएकव एभिसी सेन्ट्रल जोमा तेस्रो हुँदै कास्य पदक जितेको नेपाली टोलीका प्रत्येक खेलाडीलाई सरकारले नगद १ लाख दिन लागेको हो। नेपाली भलिबलको चार दशक इतिहासमा पुरुष टोलीले पदक जितेको त्यो पहिलो अवसर हो।
पदक जितेर फर्केपछि तत्कालिन सरकारका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले प्रतेक खेलाडीलाज्ञ १ लाख दिने घोषणा गरेका थिए।
नेपालको राष्ट्रिय खेलको मान्यता पाएको अवसरमा बंगलादेशसँग दुई मैत्रीपूर्ण भलिबल खेलिरहेको नेपाली टोलीका खेलाडीलाई बुधबार बंगलादेश विरुद्ध दोस्रो खेल हुनु अघि सम्मान गरिने नेपाल भलिबल संघले जनाएको छ।
सन् १९७६ मा पाकिस्तानमा भएको काइदे आजम भलिबल च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय भलिबलको यात्रा सुरु गरेको नेपालले १९७८, १९८२ र १९८६ मा एसियाली खेलकुदमा भाग लिएको थियो। १९८७ को तेस्रो दक्षिण एसियाली खेलकुद देखि निरन्तर भाग लिदै आएको नेपाली पुरुष टोलीले अहिलेसम्म सागमा भने कुनै पदक जित्न सकेको छैन।
पुरुष टोलीको तुलनामा दषिण एसियामा उत्कृष्ट रहेकव नेपाली महिला टोलीले भने सागमा तीन कास्य पदक जितिसकेको छ।