काठमाडौँ: निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि क्षेत्र निर्धारणको काम सकेको छ। थपिएको १५ दिनको समयसीमामा आयोगले क्षेत्र निर्धारणको काम सम्पन्न गरेको हो। आयोगले बुधबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।
संवैधानिक व्यवस्था अनुसार जनसंख्या र भूगोललाई आधार मानेर आयोगले क्षेत्र निर्धारण गरेको हो। प्रतिनिधि सभामा १६५ र प्रदेश सभामा ३३० गरी ४९५ निर्वाचन क्षेत्रको नक्साङ्कनसहितको प्रतिवेदन आयोगले तयार पारेको छ।
आयोग पदाधिकारीले प्रतिवेदन बुझाउने समयका लागि बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्ने तयारी गरेका छन्। प्रधानमन्त्रीसँगको भेटपछि प्रतिवेदन बुझाउने समय तय हुनेछ।
आयोगले उच्च हिमाली जिल्लामध्ये अधिकांशमा एक निर्वाचन क्षेत्र कायम गरेको छ। यस्तै जनसंख्या बढी भएका जिल्लाहरुमा भूगोल समेटेर बढी निर्वाचन क्षेत्र बनाइएका छन्। काठमाडौंमा जनसंख्याका कारण यसअघिका कायम रहेका १० निर्वाचन क्षेत्र यथावत छन्।
आयोगले क्षेत्र निर्धारण गर्दा कतिपय निर्वाचन क्षेत्र मिलाउन समस्या भएपछि हाल कायम गरिएका गाउँपालिका र नगरपालिकालाई टुक्र्याएको छ।