- गोपालप्रसाद पोखरेल
मोरङः पथरीका बाढी पीडितले भोकभोकै पालमुनि जाग्राम बसेर रात काट्नु परेको गुनासो गरेका छन्। आएका राहत कता गए कसैलाई अत्तोपत्तो छैन। सरकारी संयन्त्र सबैको घरघरमा राहत पुर्यायौँ भनिरहेको छ। बाढी पीडितलाई आवास र खानपिनको व्यवस्था गर्न सरकारले प्रतिव्यक्ति दैनिक रु ७० प्रदान गरेको छ। तर, विराटनगर ७ का बाढी पीडित अहिले पनि सरकारी सेवाबाट वञ्चित छन्। सामान्य त्रिपालको भरमा बसेका र वर्षात् भएको रात बिताउन जाग्राम नै बस्नुपर्ने बाध्यता छ।
बाढी पीडित विराटनगर–७ का दिनेश सहनीको घर साउन २७ गते आएको बाढीले बगायो। दाताले चलाउने दैनिक मेसबाट गुजारा चलेको थियो। अब दाता पनि आउन छाडेका छन्। उहाँहरुले दिएको एउटा त्रिपालले श्रीमती र चार छोरालाई यही त्रिपालमुनि दैनिकी बिताउनु परेको उनी सुनाउँछन्। उनले भने, “रातमा वर्षात् भएको अवस्थामा त त्रिपाल ओडेर रातभर जाग्राम बस्छौँ।”
बाढीका कारण विस्थापित भएकालाई फेरि पटकपटक पर्ने पानीले अझ त्रसित बनाएङ्काे छ। यसरी समस्यामा रहेकामा दिनेश मात्र छैनन्, उषा सहनी र रिङकुदेवी राय पनि यस्तै समस्यामा रहेको बताउछन्।
तीनसय बाढी प्रभावितको अवस्था एकै ठाउँमा यसरी समस्याग्रस्त छ। उनीहरुलाई बिहान खाए साँझ के खाने समस्या छ। सबै बाढीले बगाएपछि बिहान बेलुका के खाने भन्ने समस्यामा छन्।
विराटनगर– ७ कै उषा सहनी भन्छन् “खाद्यान्नको अभावमा पानी पिएर रात कटाएका छौँ। सरकारले बाढीबाट विस्थापित भएका परिवारलाई दिने भनेर उपलब्ध गराउने ७० रुपैयाँ का बारेमा उनलाई केही थाहा छैन। पाएका पनि छैनन् अनि सोधीखोजीका लागि कोही पुगेको छैन।
उनीहरु रु ७० रुपैयाँ भन्दा पनि सरकारले गतिलो त्रिपाल दिए हुन्थ्यो भन्छन्। बाढीपीडित रिकु राय भन्नुहुन्छ, “रु ७० भन्दा पनि सरकारले गतिलो त्रिपाल दिए हुन्थ्यो, राति राम्रोसँग सुत्न पाउँथ्यौ कि ?” बाढी प्रभावितलाई राज्यले दिने तत्कालीन राहत पुगेपनि बाढीपछिको अवस्थाको बारेमा खासै ध्यान गएको देखिँदैन।
विराटनगर महानगरपालिका भन्छ, हामीले राहत बाँडेका छौँ। तर कहाँ गयो त त्यतिका राहत, तैँ चुप मैचुपको अवस्थामा छन् राहत वितरण गर्ने। यसको सोधीखोजी अहिलेको आवश्यकताको विषय बनिनुपर्ने बाढी पीडितको भनाइ छ।
कोही राहतको पर्खाइमा हुने कोही लिएर गएको राहतको सही विवरण नदिने प्रवृत्ति ठीक नभएको बाढीपीडितको भनाइ छ। बाढी प्रभावित विगत साउन २७ गतेदेखि घरवारविहीन छन्। घर भएकाहरु घरमा फर्किए पनि घर बाढीले बगाएकाहरु कसरी घर फर्किने अनि कहाँ जाने ? भन्ने अन्यौलमा देखिन्छन्। तर विराटनगर महानगरपालिकाले भने पुनःस्थापनाको काम थालेको बताएको छ।
महानगरका प्रमुख भीम पराजुलीका अनुसार एकपल्ट सबैलाई राहत प्रदान गरिएको छ । घरबारविहीनको पुनःस्थापना गर्ने काम सुचारु भएको छ। उनले भने, “पुनःस्थापनाको काम चाँडै गर्छौं।”