जेरुसेलम : केही दिन पहिले ह्वाइट हाउसका सल्लाहकार जरेद कुश्मेरको इजरायल र प्यालेष्टिनीबीच शान्ति स्थापनार्थ भएको छलफलका केही दिन वित्न नपाउदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वेस्ट बैंकमा निर्माण गरिएका बस्ती कहिल्यै नहटाइने प्रतिक्रिया दिएका छन्।
नेतन्याहुको प्रतिक्रियाले प्यालेष्टिनीलाई थप क्रोधित पारेको छ। यसले कुश्नरको नेतृत्वमा अमेरिकी पहलमा इजरायल तथा प्यालेष्टिनीबीचको शान्तिका लागि गरिएको प्रयासमाथि प्रश्न खडा गरेको छ।
बार्कनमा आयाजित समारोहमा नेतन्याहुले भने,‘हामी यहाँ राम्रोका लागि फिर्ता भएका हौँ। अव इजरायली यस भूमिमा वस्ती हटाउने प्रश्नै उठ्दैन। वस्ती हटाइदैन।’
प्यालेष्टिनीले इजरायलसँग जोडिनेगरी स्वतन्त्र राज्य स्थापनार्थ वेस्ट बैंकको पूर्वी जेरुसेलम, गाजा क्षेत्रसवै भूभागमाथि दावी गरेको छ। यी सवै क्षेत्रलाई इजरायलले सन् १९६७ को मध्यपर्वी युद्धबाट जितेर कब्जामा लिएको थियो। तर गाजाबाट भने सन् २००५ मा फिर्ता भएको थियो।
तर प्यालेस्टाइनले कब्जामा लिइएको भूमिमा वस्ती बसाल्ने काम गैरकानूनी भएको साथै यसले दुई राष्ट्रबीचको समस्या समाधानलाई उपेक्षित गर्ने बताउँदै आएको छ। प्यालेस्टाइनलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको छ।
तर अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प आएपछि आफ्ना पूर्ववर्तीको नीति विरुद्ध हुनेगरी दुईदेशीय छलफलबाट समस्याको समाधान खोज्ने पूर्व अडानलाई खारेज गरेका छन्। यसपछि नेतन्याहुपनि थप कडा भएर प्यालेष्टिनी राज्य स्थापनाविरुद्ध अभिव्यक्ति दिँदै आएका छन्।
यद्यपि संयुक्त राष्ट्रसंघका प्रमुख एन्टिनियो गुटेर्रेसले मङ्गलबार नै रमाल्लाहमा दुई देशीय समाधानको विकल्प सोच्न नसकिने बताएका थिए। रासस/एपी