चितवन : चितवनको भरतपुर कारागारमा कैद भुक्तान गरिरहेकी विदेशी नागरिकको क्यान्सर रोगका कारण आज बिहान मृत्यु भएको छ।
खोटा चलन मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७० वैशाख २ गते दोषी ठहर गरी कारागार चलान भएकी पाकिस्तानी नागरिक जुलेखा बानोको आज बिहान ७ बजे मृत्यु भएको भरतपुर कारागारका जेलर कमल काफ्लेले जानकारी दिए।
उनका अनुसार स्तन क्यान्सरबाट पीडित बानोको उपचारकै क्रममा मृत्यु भएको हो। उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। उनको २०७६ वैशाख १ गतेसम्मका लागि कैद तोकिएको थियो।
क्यान्सर भएपछि उपचारका लागि भन्दै उनलाई गत फागुन ७ गते केन्द्रीय कारागार काठमाडौंबाट चितवन ल्याइएको थियो। यसअघि विराटनगर घर भएका ४२ वर्षीया अम्बिका कामतको स्तन क्यान्सरकै कारण गत साउन १९ गते मृत्यु भएको थियो।
यस्तै साउन १३ गते मकवानपुर हाँडीखोला घर भएका ४७ वर्षीय कैदी सीताराम विकको पनि कलेजोको क्यान्सरका कारण मृत्यु भएको काफ्लेले जानकारी दिए।
गत चैत दोस्रो साता सिन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेलको क्यान्सरका कारण मृत्यु भएको थियो।
भरतपुर कारागारमा अब एकजना क्यान्सर रोग लागेका कैदी छन्। कारागारमा अहिले पनि क्षमताभन्दा तेब्बर बढी कैदी र थुनुवा छन्। रासस