PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

राहत वितरणमै कांग्रेसभित्र अन्तरकलह



अनन्तराज न्यौपाने

राहत वितरणमै कांग्रेसभित्र अन्तरकलह

विराटनगरः नेपाली कांग्रेस क्षेत्र नम्बर ७, मोरङ लेखिएको ब्यानर झुन्ड्याएर कांग्रेस कार्यकर्ताको एक समूहले बाढी पीडितलाई राहत सामग्री वितरण गरेपछि मोरङ कांग्रेसभित्र अन्तरकलह धरातलमा देखिएको छ ।

मोरङको क्षेत्र नम्बर ७ बाट व्यवस्थापिका संसद्मा डा. शेखर कोइराला चुनिएका हुन् ।

बाढी आएको २ हप्तापछि डा. शेखरसित पार्टीमा अन्तरविरोध राख्दै आएका पुराना कांगेस कार्यकर्ताको समूहले स्थानीय बुढीगङ्गा गाउँपालिका र महानगरपालिकाको वडा नं. ५ स्थित जामुनगाछीमा राहत वितरण गरेको हो।

दुबै स्थानमा कांगेस कार्यकर्ताको वर्चस्व भए पनि स्थानीय तहको पछिल्लो निर्वाचनमा कांगेसले आफ्नो पकडलाई कायम राख्न सकेन।

नेपाली कांगेसका केन्द्रीय सदस्य एवम् नेपाल महिला सङ्घका पूर्व अध्यक्ष डा. डिला सङ्ग्रौलाको नेतृत्वमा राहत वितरण गरिएको थियो ।

राहत वितरणमा क्षेत्र नम्बर ७ का क्षेत्रीय सचिव चेतराज रेग्मीले सञ्चालन गरेको कार्यक्रममा डा. सङ्ग्रौलासहित महासमिति सदस्य सुदनबहादुर कार्की, पूर्व सांसद् वीरेन्द्र माझी, तीन जिल्ला सदस्य चन्द्रनारायण चौधरी, अशोक रिजाल र केदारबहादुर बस्नेत, पूर्व महासमिति सदस्य दीपक लोहनी, ट्रेड युनियनका केन्द्रीय नेता जनार्दन निरौला, तरुण दलका मोरङ अध्यक्ष सञ्जय थापा, तरुण दल महानगरका अध्यक्ष सन्तोष न्यौपाने लगायतका नेता उपस्थित थिए।

पार्टीभित्रको निर्वाचनमा केन्द्रीय सदस्य डा. कोइरालाले हस्तक्षेप गर्दै दीपक लोहनी र जनार्दन निरौलालाई बाहिर पारेका थिए। लोहनी र निरौला दुबै मोरङका पुराना कांगेस कार्यकर्ता हुन्।

त्यस्तै, स्थानीय तह निर्वाचनमा वीरेन्द्र माझी र अशोक रिजाल बुढीगङ्गा गाउँपालिकामा अध्यक्षका दाबेदार थिए। डा. शेखरले दुबैलाई पन्छाएर टिकट दिएका आफू नजिकका जितनारायण थापाले विजयको टीका लगाउन सकेनन्।

क्षेत्रीय सचिवले राहत कार्यक्रम सञ्चालन गरेका भए पनि क्षेत्रीय सभापति निरञ्जन रिजालले यस बारेमा आफूले थाहा नपाएको प्रतिक्रिया दिए।

‘खै मलाई थाहा छैन, थाहा नपाएको कार्यक्रमका बारेमा के प्रतिक्रिया दिनु?’, सभापति रिजालले भने, ‘क्षेत्रीय समितिको राहत वितरण गर्ने अहिले कुनै कार्यक्रम छैन। कहाँ कसले गरेको हो मेरो जानकारीमा छैन ।’

राहत वितरणमा संलग्न ट्रेड युनियनकर्मी जनार्दन निरौलाले क्षेत्र नम्बर ७ का ८ सय घरपरिवारलाई राहत सामग्री वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए।

‘हाम्रो ठेगाना नै क्षेत्र नम्बर ७ हो त्यसैले क्षेत्र नम्बर ७ को ब्यानरमा कार्यक्रम गरेका हौँ’, नेता निरौलाको भनाइ थियो, ‘यो राजनीतिकभन्दा सामाजिक कार्यक्रम हो ।’

 बाढीलगत्तै सेनाको हेलिकप्टर चढेर विराटनगर आएका शेखर सामान्य राहत सामग्री वितरण गरेर राजधानी फर्किसकेका छन् ।

शेखरले आफ्नी स्वर्गीय आमा नोना कोइरालाका नाममा स्थापित नोना कोइराला स्मृति प्रतिष्ठानबाट राहत सामग्री वितरण गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell