PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

दोबाटोमा डा. लोहनी : राणासँग मिल्ने कि कोठे दलमा टाक्सिने?



सूर्य खड्का

दोबाटोमा डा. लोहनी : राणासँग मिल्ने कि कोठे दलमा टाक्सिने?
फोटो : लोहनीको फेसबुकबाट

हेभीवेट नेताहरु करिब करिब रित्तिँदै गएका छन्। डाक्टर बाबुराम भट्टराई हुन् या डाक्टर प्रशचन्द्र लोहनी। नयाँ शक्ति र एकीकृत राप्रपा राष्ट्रवादी दुवैको एकैखाले रोग। यी दुई दललाई प्रतिनिधि उदाहरण मानेर उनीहरुको राजनीतिक दशा र दिशाका आधारमा भन्ने हो भने विद्यावारिधि गरेका विद्वानहरुले राजनीतिको मूलधारको नेतृत्व हाँक्न नसक्ने नै हुन कि भन्ने प्रश्न उब्जिन्छ। 

वैकल्पिक राजनीतिक शक्तिको सपना पूरा नगर्दै पार्टीको ओरालो यात्रा सुरु हुनुमा डा भट्टराईको नेतृत्व क्षमता माथि औला तेर्स्याउँछन् नयाँ शक्ति छोडनेहरु। जब कि राजनीतिक नेतृत्वको कोण बाहेकबाट हेर्ने हो भने उच्च वौद्धिक व्यक्तित्व र मार्क्सवादका विद्धान व्याख्याता हुन् डा भट्टराई।

एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. लोहनीको पनि वौद्धिक छबि र व्यक्तित्वको उचाई औशत अरु नेताभन्दा कम छैन। तर, पार्टी प्रमुखका रुपमा उनको नेतृत्व क्षमतालाई गएका ५ महिनाको अवधिलाई नियाल्ने हो भने उनी पनि कमजोर पार्टी अध्यक्ष हुन्। डा लोहनी आफैं पार्टी प्रमुख त बने तर पार्टीको शक्ति विस्तारमा केन्द्रित हुने चुनौती पार लगाउन चुकिरहे।

हाल तीन राप्रपा छन् जसमा को भन्दा को ठूलो भन्ने निरर्थक बहसमा नै समय र शक्ति खेर गैरहेको छ। तीन वटै दलका लागि शक्ति बिस्तारका स्रोत पूर्वपञ्च तथा पूर्व राजावादी समूह नै हुन्। अहिले कमल थापा, पशुपति शम्शेर राणा र डा प्रकाशचन्द्र लोहनी कित्तामा विभाजित पूर्व पञ्चहरुको दलहरु मध्ये डा लोहनीलाई सबैभन्दा चुनौती छ। उनी सबैभन्दा विद्धान र भद्र नेता हुन्। तर, संगठन संचालन र पार्टीको पहिलो नेतृत्व भएर गरिरहेको प्रदर्शनमा कमजोर देखिँदैछन्। 

राजेश्वर देवकोटा पथमा डा. लोहनी?

जसरी २०४६ को परिवर्तनपछिका पूर्व पञ्चहरुको राजनीतिलाई राजेश्वर देवकोटाले उच्च नैतिक चरित्रका साथ अघि बढाउन सिद्धान्तनिष्ठ राजनीति गरे, त्यही बिन्दुमा उभिएका छन्, डा लोहनी। होचो शारीरिक कदका वावजुद उच्च राजनीतिक हैसियत भएका राजेश्वर देवकोटा कहिल्यै पार्टीको पहिलो नेतृत्वका रुपमा शक्तिशाली हुन सकेनन्। उनले सधैँ राष्ट्रवादी राप्रपाकै नेताका रुपमा आफूलाई उभ्याइरहे। तर पुर्नस्थापित प्रजातन्त्रका साढे २ दशकमा देवकोटाको दल कोठे दलमा सीमित रहेको थियो।

अहिले डा लोहनी लगभग देवकोटाकै हैसियतमा पुगेका छन्। डा. लोहनी राजनीति र अर्थशास्त्रका ज्ञाताका रुपमा जति प्रभावशाली छन, उनको नेतृत्वको दल अपेक्षित रुपमा राजनीतिमा उदाउन सक्ने संकेत देखिएको छैन। लोहनीका दलका सहअध्यक्ष तथा पूर्वमन्त्री केशरबहादुर बिष्ट पनि आफ्नो दलले अपेक्षित गति लिन नसकेको स्वीकार गर्छन। 

स्थानीय चुनावमा चुनाव चिन्ह नै नपाएको कारण जित्न नसके पनि केही स्थानमा स्वतन्त्र उम्मेद्वार पार्टीका तर्फबाट विजय भएको नेता बिष्टको भनाई छ।

एकीकृत राप्रपा राष्ट्रवादीले करिब ६४ जिल्लामा संगठन बनाएको, दर्जनौ पार्टी भेला र प्रशिक्षणहरु सम्पन्न गरेको र पार्टीको शक्ति विस्तारमा लागिरहेको सहअध्यक्ष बिष्टको दाबी छ। तर, यी आन्तरिक प्रयासका वावजुद राजनीतिको मूल बाटोमा डा लोहनी नेतृत्वको दल लगभग गुमनाम र निष्प्रभावी छ।

राप्रपाबाट अलग भएको करिब ६ महिनामा उनको दलले आन्तरिक पार्टी जीवनमा के के बाजी मार्यो भन्ने उनका दलका सदस्य बाहेक अरुलाई मत्लब हुने कुरा भएन। 

हलोले गर्ला भलो? 

गत फागुनमा तत्कालीन राप्रपा र राप्रपा नेपाल एकीकृत भएको महिना दिनमै अध्यक्ष कमल थापा विरुद्ध दर्जनौं आरोप लगाए। आफ्नो नेतृत्वमा एकीकृत राप्रपा राष्ट्रवादी बनाए। उनले उतिबेलाको राप्रपाको चुनाव चिन्ह हलोमा आफ्नो दलको दाबी प्रस्तुत गरे।

तर, अहिले राप्रपा प्रजातान्त्रिकको नेतृत्व गर्दै राणाले नै नयाँ दल आफ्नै नेतृत्वमा गठन गरेका मात्रै छैनन्, चुनाव चिन्ह हलो आफ्नै दलको हुने दाबी निर्वाचन आयोगमा पेश गरिसकेका छन्। अब हलो कुन दलको चुनाव चिन्ह हुने राणा नेतृत्वको प्रजातान्त्रिक राप्रपाको कि डा लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीको? यो प्रश्नको निक्यौल गर्ने जिम्मा निर्वाचन आयोगमा पुगेको छ।

राप्रपा राष्ट्रवादीका सह अध्यक्ष बिष्ट पनि चुनाव चिन्हमा आयोगको निर्णय नै अन्तिम हुने बताउँछन्। पहिलो दाबी आफ्नो दलको भए पनि राणाले पनि सोही चुनाव चिन्ह मागेको सन्दर्भमा आयोगको निर्णय नै अन्तिम हुने नेता बिष्टको कथन छ।

थापासँगको विभाजन राणासँग एकता?

पहिले लोहनी र अहिले पशुपति राणा कमल थापा नेतृत्वको राप्रपाबाट फुटेर आएका नेता हुन्। दुवैको मूल राजनीति भने सूर्यबहादुर थापा नेतृत्वको उहिलेको राप्रपाको सारथीका रुपमा नै अघि बढ्दै आएको हो। अहिले कमल थापालाई बाईबाई गरेपछि के फरक फरक दल बनेर राणा र लोहनी बस्न आवश्यक छ?

डा लोहनीको दलका सहअध्यक्ष बिष्ट कमल थापासँगको पार्टी एकतालाई ठाडै अस्वीकार गर्छन्। कमल थापाको त सिद्धान्त नै नरहेको र सत्तामा जान मात्रै 'ताक परे तिवारी नत्र गोतामे' गर्ने गरेका कारण उनको दलसँग राष्ट्रवादी राप्रपा मिल्न नसक्ने नेता बिष्टको भनाई छ। राणासँग हिन्दूत्वको मुद्दामा समान धारणा रहेको र राजसंस्थाको बारेमा खुल्ला बहस गर्न राणा नै उदार देखिएकाले पार्टी एकताको सम्भावना रहेको उनको भनाई छ।

राप्रपा प्रजातान्त्रिक भर्खर पार्टी बन्दै गरेकोले औपचारिक रुपमा एकता प्रयास सुरु भैनसकेको भए पनि एकता हुने आशामा रहेका नेता बिष्ट राणा नेतृत्वको पार्टीले व्यवस्थित भैसकेपछि मात्रै यस विषयमा थप प्रगति हुने विश्वास व्यक्त गर्छन्।

काम देखाउन विरोध कार्यक्रम

सनातन हिन्दू राष्ट्र स्थापना, संवैधानिक राजतन्त्रको पुर्नस्थापना र भ्रष्टाचार नियन्त्रणका तीन बुँदे माग राखेर डा लोहनी नेतृत्वको दलले भदौं २१ देखि सडक आन्दोलनका कार्यक्रम तय गरेको छ। 

तर देश २ नम्बर प्रदेशको स्थानीय तहको असोज २ को चुनावमा होमिएका बेला डा लोहनीले राजधानीमा गर्ने विरोधको खास प्रभाव पर्ने देखिँदैन। राजनीतिक अस्तित्व प्रदर्शनका लागि विरोधका कार्यक्रम ल्याएको सो दलका नेता बिष्टका शब्दमा माग पूरा गराउन दबाबकै लागि विरोध कार्यक्रम राखिएको हो। 

हिजोका एकै दलका सारथी राणा र लोहनी अब फरक फरक राजनीतिक पसलका साहुजी भैरहने कि मिलेर शक्तिशाली हुने भन्ने बहसको निकासमा नै डा लोहनीको दलको राजनीतिक दोवाटो निश्चित गर्ला।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell