.jpg)
काठमाडौं : सेल्टर आश्रय नेपालको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा भदौं २१ देखि २३ गतेसम्म सडक बालबालिकाको लिग फुटबल प्रतियोगिता हुने भएको छ।
प्रतियोगितमा सडक बालबालिकाको क्षेत्रमा काम गरिरहेका १५ वटा संस्थाका १४ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले जानकारी दिईन्।
लिगकम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिनेछ। ३० मिनेटमा खेलाइने लिगका खेलहरु दशरथ रंगशालामा हुनेछ।
लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सन् २०१८ को मे १९ देखि २७ तारिखसम्म रुसको मस्कोमा आयोजना हुने सडक तथा असहाय बालबालिकाको विश्व कप फुटबलमा सहभागि गराइने आयोजकले जनाएको छ। विश्व कप सेभेन ए साइडको हुनेछ।
विश्वकपमा २२ देशबाट २४ टिमको सहभागिता रहनेछ। जसमा १२ छात्र र १२ छात्रा टिमले प्रतिस्पर्धा गर्नेछन्। नेपालले छात्र टिममा मात्र भाग लिनेछ। अगामी विश्व कपमा नेपालको छात्रा टिमलाई पनि सहभागी गराईने ओलीले बताईन्।
लिगबाट सुरुमा १८ जना खेलाडी छनोट गरी एक महिना विश्व कपको प्रशिक्षण क्याम्पमा राखिनेछ। प्रशिक्षण क्याम्पबाट उत्कृष्ट ९ जनालाई विश्व कपको अन्तिम टिममा समावेश गरिनेछ। एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले नेपालका सडक बालबालिकालाई विश्वकप खेल्ने मौका मिल्नु गौरवकको कुरा भएको बताए। उनले एन्फाले आफ्नो समाजिक उत्तर दायित्व अन्तर्गत लिगलाई सहयोग गर्न लागेको पनि बताए।
यस विश्वकपको नारा 'हरेक अनाथ, असहाय तथा सडक बालबालिकाले जन्म दर्ताको अधिकार पाउनु पर्छ' भन्ने छ। यो नारा संयुक्त राष्ट्र संघले अगाडी सारेको नारा पनि हो।