काठमाडौँ: एक खर्ब लगानीको पूर्वाधार विकास बैंक स्थापनाका लागि चीनले चासो देखाएको समाचार सार्वजनिक भएकै दिन बुधवार नेपाली लगानीमै त्यही प्रकृतिको बैंक स्थापनाका लागि नेपाल राष्ट्र बैंकमा आवेदन परेको छ। नेपाल सरकारको दश प्रतिशतसहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी २० अर्ब रुपैयाँ चुक्ता पूँजीसहित पूर्वाधार विकास बैंक स्थापनाका लागि आवेदन गरिएको हो।
प्रस्तावित बैंक सञ्चालक समितिका अध्यक्ष डा. विमल कोइरालाले राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई आवेदन दिए।
सरकारले चालु आर्थिक वर्षको बजेटमा निजी क्षेत्रसहितको संलग्नतामा नयाँ पूर्वाधार विकास बैंकको अवधारणा अघि सारेको थियो। बजेटमा उल्लेख भएको पूर्वाधार विकास बैंकको अवधारणामा रहेर नेपाल राष्ट्र बैंकले २० अर्ब चुक्ता पूँजी पुर्याएर बैंक खोल्न पाइने व्यवस्था मौद्रिक नीतिमा ल्याएको थियो।
पूर्वाधार विकास बैंकको अवधारणालाई अघि बढाउन निजी क्षेत्रको लगानीमा स्थापना गरिएको इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले नेपाल पूर्वाधार विकास बैंक स्थापनाका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिएको बताए।
यो बैंकमा सरकारसहित झन्डै तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्नता छ। बैंकको अवधारणामा नेपालका व्यवसायिक घराना विशाल ग्रुप, लक्की ग्रुप, आइएमई, मुरारका ग्रुप लगायतका समूह आवद्द भएका छन्। बैंकमा कर्मचारी संचय कोष, नागरिक लगानी कोषको समेत शेयर रहनेछ। बैंकमा ६० प्रतिशत प्रवर्धक र ४० प्रतिशत सर्वसाधारणको शेयर रहनेछ।
थप विजमाण्डूमा पढ्न सक्नुहुनेछ।