काठमाडौँ: निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । जारी आचारसंहिता आजदेखि लागू भएको छ। आचारसंहिता लागूपछि निर्वाचन प्रभावित गर्ने कुनै पनि काम गर्न पाइने छैन ।
आचारसंहिता उल्लङ्घनमा आयोगले एक लाख रुपैयासम्म जरिवाना र उम्मेदवारी रद्द समेत गर्न सक्नेछ।
आयोगले निर्वाचन आचारसंहिता जारी गरेपछि सरकारले कुनै पनि कर्मचारीको सुरुवा, बढुवा तथा पदस्थापन समेतका काम गर्न पाउदैन। तर, निर्वाचन आयोगले आचारसंहिता प्रभावित नहुने ठहर गरी अनुमति दिएको अवस्थामा भने सरकारले आवश्यक निर्णय लिन सक्नेछ।
आयोगले जारी गरेको आचारसंहिता सरकार, सरकारका मन्त्री, स्थानीय र कर्मचारी, सार्वजनिक संस्था तथा कर्मचारीलाई लागू हुनेछ। यस्तै, सरकारी तथा अर्धसरकारी संस्था, कार्यालय र कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ। जारी आचारसंहिता सुरक्षा संगठन र कर्मचारीहरुमा पनि लागू हुनेछ। निर्वाचनको काममा संलग्न कर्मचारी र सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पनि आचारसंहिता लाग्नेछ।
उम्मेदवारका हकमा भने मनोनयन दर्तापछि आचारसंहिता लाग्ने निर्वाचन आयोगले जनाएको छ।
एक लाखसम्म जरिवाना
आचारसंहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।
उम्मेद्वारको हकमा मनोनयन रद्द गर्नेसम्मको अधिकार निर्वाचन आयोगलाई छ।