इटहरी : नेपाल इन्जिनियर्स एशोसियशन डिनको दुई दिने राष्ट्रिय सम्मेलनले सुनसरीको इटहरीमा सुरु भएको छ।
सार्क राष्ट्रका डिन नेता प्रतिनिधिसमेतको सहभागितामा पहिलो पटक इटहरीमा आयोजित सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा रहेकाले त्यसका लागि डिनले ठोस् योजनासहित नयाँ प्रविधियुक्त नीति ल्याउन आग्रह गरे।
गच्छदारले भने,‘नयाँ नेपाल निर्माण गर्ने क्रममा संविधानले नै स्थानीय तहमा प्रविधि र प्राविधिकसमेत परिकल्पना गरी सबै प्रकारका अधिकार उपलब्ध गराइ गाउँ तहबाट नै देश निर्माणको काम थालनी गरिने भएकाले यो कार्यमा सबै राजनीतिक दलहरुले समेत राजनीतिक स्वार्थ त्यागी राष्ट्र निर्माणमा एक ढिक्का भएर जुट्न म यस कार्यक्रममार्फत सबैमा आग्रह गर्दछु।’
बंगलादेश डिनका सहअध्यक्ष एकेएमए हमिदले आफ्नो देशका प्रधानमन्त्री र सरकारले प्रविधिलाई उच्च प्राथामिकता दिएकै कारणले देशको समग्र विकासले उच्च प्राथमिकता प्राप्त गर्दै आएकाले अब नेपालमा पनि त्यस प्रकारको नीति आउन जरुरी रहेको बताए।
कार्यक्रममा भारत डिनका महासचिव मनमोहन राजवंशीले देश प्रविधियुक्त र प्राविधिक उत्पादनका लागि नयाँ नीतिसहित अघि बढ्ने कार्यमा राज्यले नै विशेष ध्यान नदिएसम्म देशको समग्र विकास अधूरो रहनेतर्फ सबैलाई सचेत बन्न आग्रह गरे। रासस