PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

बागलुङमा तीन करोडको मह उत्पादन



रासस

बागलुङमा तीन करोडको मह उत्पादन

बागलुङ : बागलुङमा आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब तीन करोडको मह बिक्री गरेका छन्। व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मह उत्पादन पाँच टन बढेको छ। मह प्रतिकिलो ९०० देखि एक हजार रुपैयाँसम्ममा बिक्री हुन्छ।

दुई वर्षअघि २० जना व्यावसायिक मौरीपालक किसानले एक लाख ८० हजारका दरले सरकारी अनुदान पाएका थिए। युवा लक्षित कार्यक्रमअन्तर्गत अनुदान पाएपछि किसानले मौरीपालनलाई विस्तार गरेका हुन्। 

हरेक वर्ष जिल्ला कृषि विकास कार्यालयले अनुदानमा मौरीका घार वितरण गर्दै आएको छ। कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीका अनुसार जिल्लाभर करिब चार हजार उन्नत घारमा मौरीपालन भइरहेको छ। परम्परागत घारमा मौरी पाल्ने किसानको संख्या पनि उत्तिकै छ । 

‘कार्यालयबाट वितरण भएका उन्नत घारमात्रै चार हजारभन्दा बढी छन्, स्थानीय घारको संख्या यकिन छैन’, उनले भने। गत आर्थिक वर्षमा उत्पादन भएको ३० हजार किलो महमध्ये अधिकांश जिल्लाभित्रै खपत भएको थियो। 

अनुदान पाएपछि माहुरीपालनलाई किसानले उद्यमको रुपमा अघि बढाएका छन्। कम लगानीमा मनग्य आम्दानी हुनथालेछि किसान मौरीपालनतर्फ आकर्षित हुँदै गएका छन्।

अनुदानले किसान उत्साहित छन्। जिल्ला कृषि विकास कार्यालयले २५ प्रतिशत अनुदानमा यसवर्ष ५५० वटा घार वितरण गरिसकेको छ। किसानले दुई हजार ६०० पर्ने घार अनुदान सहयोगमा एक हजार ९५० मा प्राप्त गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell