
काठमाडौं : नेपालको खेलकुद र शिक्षामा विकासका लागि विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) र अम होङ गील फाउन्डेसनबीच दक्षिण कोरियामा सम्झौता भएको छ। दक्षिण कोरियाको सिओलस्थित विश्व तेक्वान्दो महासंघको मुख्यालयमा आयोजित कार्यक्रममा डब्लुटिएफका अध्यक्ष जो चङ वन र फाउन्डेसनका प्रमुख ली जे हु लर् सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार नेपाल तेक्वान्दो संघको व्यवस्थापन र सहकार्यमा अम होङ गील फाउन्डेसनले नेपालमा विद्यालय निर्माणका साथै भत्किएका विद्यालयलाई पुर्ननिर्माण गर्नेछ।
सो अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजुदूत अर्जुनजंग बहादुर शिंह लगायतको उपस्थिती रहेको थियो।
उक्त फाउन्डेसनले आफूले निर्माण र पुर्ननिर्माण गरेको विद्यालयमा तेक्वान्दो संघसँगको सहकार्यमा तेक्वान्दो प्रशिक्षकसहितको तेक्वान्दो खेल सञ्चालनको कार्यक्रम पनि अगाडि बढाउनेछ।
फाउन्डेसनको स्थापना विश्व प्रसिद्ध पर्वतारोही अम होङ गीलको नाममा सन् २००८ मा भएको थियो। अम होङ गीलले विश्वका ८ हजार मिटर भन्दामाथिको १६ हिमालको आरोहण गरेर विश्व रेकर्ड कायम गरेका थिए। सोही फाउन्डेसनले नेपालका विकेट स्थानमा १२ विद्यालय निर्माण गरिसकेको छ। अब थप २ विद्यालय निर्माण गर्न लागेको नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास समसेर राणाले बताए।
सम्झौताको कार्यक्रममा राजदुत शिंहले नेपालका विकेट बिद्यालयमा तेक्वान्दो खेल सञ्चालन गर्न आफ्नो पक्षबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे। ‘फाउन्डेशनसँग मिलेर नेपालका विकट जिल्लाका विद्यार्थीलाइ तेक्वान्दो तालिमका साथै एउटा भविष्यको आशा दिने यात्रामा सहभागी हुँदा खुसि छु। उनीहरुले नै एकदिन ओलिम्पक र विश्व तेक्वान्दो प्रतियोगितामा मेडल जित्न सकोस् मेरो शुभकामना छ।’
फाउन्डेशनका म्यानेजरले डब्लुटिएफसँग मिलेर नेपालका विकट जिल्लाका विद्यार्थीलाइ तेक्वान्दो शिक्षा दिन सकेकोमा निक्कै गर्व लागेको बताए। डब्लुटिएफले यसअघि पनि नेपालको अनाथ बालबालिकाका लागि केयर्स नेपाल भन्ने कार्यक्रममा माफर्त तेक्वान्दो खेल सुरु गरेको छ। जुन नेपालका ८ असाहय बालबालिका संरक्षित संस्थामा तेक्वान्दो खेल सुरु गरिसकेको छ। ती बालबालिकालाई नि:शुल्क प्रशिक्षण र खेल सामाग्री समेत प्रदान गरिसकेको छ।
सोही कार्यक्रम अन्तर्गत १३ वर्षिय सबिन कार्की र १८ वर्षिय सपना नेपालीले गत २४ देखि ३० जुनसम्म कोरियाको मुजुमा भएको बिश्व तेक्वान्दो प्रतियोगितामा सहभागीता जनाएका थिए। सबिनाले महाभूकम्पमा आफ्नो अभिभावक गुमाएकी थिइन्।
सबिनाले २०२० मा टोकियोमा हुने ओलम्पिकमा नेपालको तर्फबाट भाग लिने सपना बोकेका छिन्। सानै उमेरमा आफ्ना अभिभावक गुमाएका सपना नेपालीले तेक्वान्दोमार्फत आफ्नो भविष्य निर्माण गर्ने बताए। '७ वर्ष छदा बुबाआमाले छोडेर जानुभयो। तर, म उहाँहरुले देख्नु भएको सपना तेक्वान्दो मार्फत पूरा गर्नेछु।’