PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

होसियार रहनुस् स्क्रब्स टाइफस सामान्य रोग भए पनि यस्तो छ खतरा



सागर बुढाथोकी

होसियार रहनुस् स्क्रब्स टाइफस सामान्य रोग भए पनि यस्तो छ खतरा

काठमाडौं : चितवनमा स्क्रब्स टाइफसको कारण साउन र भदौको पहिलो सातासम्म २ जनाको मृत्यु भइसकेको चितवन जनस्वास्थ्य कार्यालयले जनाएको छ।
 
साउन १ देखि भदौको दोस्रो सातासम्म ४ सय ९७ जनाको रगत परीक्षण गर्दा १ सय ३३ जनामा स्क्रब्स टाइफस भएको पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको हो।

इपिडिमियोलोजी तथा रोग महाशाखाले देशभर २२ जिल्लामा स्क्रब्स टाइफस देखिएको जनाएको छ। गत अर्थिक वर्षमा स्क्रब्स टाइफसका काण देशभर ६ जनाको मृत्यु भएको थियो। गत वर्ष र अहिले गरेर १५ जनाभन्दा बढीको स्क्रब्स टाइफसको कारण मृत्यु भइसकेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग महाशाखाले जनाए अनुसार अहिले काठमाडौंमा पनि स्क्रब्स टाइफसका बिरामी देखिन थालेका छन्।

काठमाडौंका विभिन्न अस्पतालबाट ल्याइएका रगतका नमुना जाँच गर्दा ६२ जना स्क्रब्स टाइफस देखिएको सरुवा रोग अस्पतालका डाक्टर शेर बहादुर पुनले बताए।

उनले भने, 'महामारी केही होइन्। सामान्य बिरामी हो, उपचार गर्दा ठीक हुन्छ।’

‘स्क्रब्स टाइफसको उपचार गरेन भने सुन्ने क्षमतामा कमी आउँछ। मिर्गौला फेल हुन्छ। मष्तिकमा असर पर्छ। यस्ता बिरामीलाई मल्टी अर्गन डिसअर्डर समेत हुन्छ। निमोनिया तथा कडा ज्वरोले सताउन सक्छ,’ उनले भने, ‘मासु कुहिने, छारे रोगको लक्षण देखिने, शरीर सुस्त हुने हुन्छ। यसले कलेजो तथा फोक्सोमा समेत असर गर्छ।’

टाइफसको कुनै खोप उत्पादन भएको छैन्। उपियाँ, किरा, सुलसुले लगायत सुक्ष्म किराको सम्पर्कमा आएन भने टाइफसले छुँदैन। व्याक्तिगत सरसफाइमा विशेष ध्यानदिनुपर्ने चिकित्सकहरु सल्लाह दिन्छन्।

टाइफसको जीवाणु ‘रिकेटसया सुसुगामुसीको’ जीवाणुले सर्छ। यस्ता जीवाणुहरु विशेषगरि खेत झाडीमा पाइने मुसाको प्रजातिमा हुन्छ।
शरीर बाउडिएमा, सास फेर्न गाह्रो भएमा र कडा किसिमको ज्वरो आएमा स्क्रब टाइफस हुन सक्ने चिकित्सकहरु बताउँछन्। जीउ टाउको दुख्ने, खोकी वाकवाकी, वान्ता हुने र पखालाले सताउने हुँदा पनि स्क्रब्स टाइफस हुन सक्छ।

‘सामान्य एण्टिबायोटिक खाँदा यो रोग ठीक हुन्छ। हेलचेक्र्याई र सरसफाइमा ध्यान नदिने हो भने ज्यान समेत लिन्छ,’ पुनले भने, ‘यसको ‌औषाधि स्वास्थ्य चौकीमा नि:शुल्क पाइन्छ। बाहिर किन्दा पनि सस्तै छ। ३० रुपैयाँमा नै आउँछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell