PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

'प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि संविधान पूर्ण कार्यान्वयन'



पहिलोपोस्ट

'प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि संविधान पूर्ण कार्यान्वयन'

भीमदत्तनगर: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन्।

कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन बारे सबै राजनीतिक दलसँग सल्लाह भइरहेको बताए।

“सबै पार्टीहरुसँग सल्लाह भएको छ”, प्रधानमन्त्री देउवाले भने, “प्रदेश नं २ मा पनि स्थानीय तहको निर्वाचन हुन गइरहेको छ।”

निर्वाचन सम्पन्न भई मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेसँगै संघीय गणतन्त्र संस्थागत हुने उनको भनाइ थियो।

आफ्नो भारत भ्रमण सफल रहेको बताउँदै उहाँले पञ्चेश्वर परियोजना अगाडि बढाउनाका साथै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, प्रदेश नं ७ मा प्राविधिक शिक्षालय स्थापना र महाकाली नदीमा दार्चुलाको जोलजिवी र डडेल्धुराको परशुराममा पक्की पुल र तटबन्ध निर्माण हुने बताए।

“भारत भ्रमण सफल रह्यो”, देउवाले भने, “सुदूरपश्चिमको विकासका लागि पनि भारतीय पक्षसँग सहमति भएकाे छ।”

बिहीबार महाकाली नदीको चार लेनको पक्की पुल शिलान्यास गर्न कञ्चनपुर आएका प्रधानमन्त्री देउवा आजै राजधानी फर्कने कार्यक्रम रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell