PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

इन्जिनियरिङ क्याम्पस विवादः आन्दोलनबाटै अध्यक्षको राजिनामादेखि क्याम्पसको सम्बन्धन फिर्तासम्म



रमेश वाग्ले

इन्जिनियरिङ क्याम्पस विवादः आन्दोलनबाटै अध्यक्षको राजिनामादेखि क्याम्पसको सम्बन्धन फिर्तासम्म


काठमाडौं :  नेपाल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले आन्दोलनबाटै क्याम्पस सचालक समितिले गरेका गलत निर्णय सच्याएका छन्। 

गैर नाफामूलक संस्थाबाट नाफा बाँड्न प्रा. लि.मा लैजाने, पोखरा विश्वविद्यालय सम्बन्धन सारेर मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पुर्याउने तथा क्याम्पसले आर्जन गरेको संचित चल अचल सम्पत्ति हिनामिना गर्ने संचालक समितिको निर्णय विद्यार्थीहरुले आन्दोलनबाटै सच्याएका छन्। 

आफ्ना गलत निर्णयको ढाकछोप गर्दै त्यसको औचित्प पुष्टि गर्न भक्तपुरको रफत संचार क्लव पुगेका कलेज संचालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेलाई घेरा हालेर प्रहरी बोलाएका विद्यार्थीले प्रहरी कार्यालयभित्रै सबै निर्णय फिर्ता लिन संचालक समितिलाई बाध्य पारेका हुन्। 

बिहीबार प्रहरी कार्यालयभित्रै संचालक समितिको बैठक बस्न बाध्य पारेका नेपाल विद्यार्थी संघ र अनेरास्वियुका विद्यार्थीहरुले संचालक समितिका अध्यक्ष न्यौपानेको राजिनामादेखि क्याम्पसको सम्बन्धन पोखरा विश्वविद्यालयमा फर्काउनेदेखि क्याम्पसलाई नाफामूलक संस्था प्राइभेट लिमिटेडमा गरिएको दर्ता खारेजीको निर्णय गराउन सफल भए। 

‘अध्यक्ष लम्बोदर न्यौपानेले प्रहरी कार्यालयभित्र लिखित राजिनामा दिएर सबै निर्णयलाई ढाकछोप गर्ने प्रयत्न गर्नुभयो। तर हामीले सम्बन्धन फिर्ता गर्ने र प्रा.लि.मा गरिएको दर्ता खारेजी नगर्दासम्म राजिनामाको औचित्य नहुने अडान राख्यौ’ नेविसंघ केन्द्रीय सदस्य नवराज त्रिपाठीले भने, ‘त्यसमा संचालक समितिका अन्य सदस्यपनि सहमत हुनुभयो। त्यसपछि सबै प्रक्रिया प्रहरी कार्यालयमै वकिल बोलाएर अघि बढ्यो।’

उनले सबै निर्णय बैधानिक ढंगले अघि बढाएको भन्दै कार्यान्वनका लागि अब प्रक्रिया अघि बढेको बताए।

अनेरास्ववियुका केन्द्रीय सदस्य आद्रता रेग्मीले न्यौपानेले कानुनको साहरामा धम्की दिएपछि आन्दोलनको साहरा लिनुपरेको भन्दै अझै प्रक्रियाले पूर्णता नपाएको बताइन्।

‘उहाँले लिखित राजिनामा, कम्पनी रजिष्ट्रारमा प्रालि खारेजीको निवेदन तथा मध्यपश्चिम विश्वविद्यालयलाई सम्बन्धन खारेजीको निवेदन त त्यही बसेर तयार पार्नुभएको छ तर ती प्रक्रियाले पूर्णता पाएका छैनन’ आद्रताले भनिन्, ‘आज प्रमुख जिल्ला अधिकारीको रोहवरमा सबै प्रक्रिया पुरा गर्ने भनिएको छ।’  

संचालक समितिले केही दिन अघि पोखरा विश्वविद्यालयको सम्बन्धनमा रहेको नेपाल इन्जिनियरिङ कलेज ‘नेक’ एकाएक मध्यपश्चिम विश्वविद्यालयमा सारेको थियो। त्यसको विरोधमा विद्यार्थीहरुले आन्दोलन चर्काएका थिए। 
 
दुई हजार एक सय इन्जिनियरले नियमित अध्ययन गरिरहेको नेक संचालक समितिले विश्वविद्यालय परिवर्तनसँगै कलेजलाई गैर नाफामूलकबाट नाफा मुलक कलेजमा रुपान्तरण गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडमा दर्ता गरेको गरेको थियो।
 
हरेक वर्ष विद्यार्थीबाट आर्जन गर्ने करिब २१ करोड आम्दानी संचालहरुको पोल्टामा पार्न संचालक समितिका केहीले ‘गिद्धे दृष्टि लगाएको भन्दै’ नेविसंघ र अनेरास्वियुले आन्दोलन सुरु गरेका थिए। 

हरेक वर्ष दुई हजार एक सय विद्यार्थी भर्ना हुने कलेज विद्यार्थीका लागि पुल्चोक पछि दोस्रो छनौट हो।

नेक संचालकले विश्वविद्यालय परिवर्तन गरेको र प्रालिमा लगेर अहिलेसम्म कमाएको चल अचल सम्पत्ति र त्यसको ख्यातिसमेत आफ्नो पोल्टामा पर्ने नियत राखेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए। 

‘अहिलेसम्म १० हजार भन्दा बढी इन्जिनियर उत्पादन गरेको नेकको करिब डेढ अर्बको अचल सम्पत्ति छ,’ आन्दोलनको नेतृत्व गरिरहेका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य त्रिपाठीले भने, ‘हरेक वर्ष हुने करिब २१ करोड खुद नाफा र विगतमा संचित गरेको अर्बौ रकममा आँखा लगाएर संचालकले कलेज धरासायी पारी व्यक्तिगत नाफा आर्जन गर्ने नियत प्रष्ट देखिएको छ।’

केहीअघि कलेज संचालकले नाफा लिन नमिल्ने अवस्थामै गाडी खरिद लगायतका शीर्षकमा १ करोड ५० लाखका दरले रकम बुझेपछि विद्यार्थी संगठनहरुले सशंकित हुँदै आन्दोलनको तयारी गरेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell