चितवन : चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो।
कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भरतपुर अस्पतालमा उपचार भएका कूल ३८० जना बिरामीको परीक्षण गरिएकामा ३०९ जनामा इन्फ्लुएञ्जा ए एचवान एनवान संक्रमण पुष्टि भएको जानकारी दिए।
‘जिल्लामा फ्लु ए देखिएपछि ३८० जनाको नमूना थप परीक्षणका लागि काठमाडौँमा पठाइएको थियो, केसीले भने,‘ परीक्षणले ३०९ जनामा संक्रमण पुष्टि गरेको हो।’ संक्रमण भएकामध्ये २५३ जना चितवनका बासिन्दा हुन्।
बाँकी ५६ जना भने बाहिरी जिल्ला तनहुँ, धादिङ, नवलपरासीलगायतबाट चितवनमा आई उपचार गरिएका बिरामी छन्।
स्वाइनफ्लु लागेका बिरामीमा सुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण हुने भएकाले चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भरतपुर अस्पतालका डा कालिदास अधिकारी बताउँछन्। उनले फ्लु ए संक्रमण भएका बिरामीको चाप अस्पतालमा अत्यधिक भएको बताए।
चारजनामा डेंगु
भारतको मुम्बईमा बिरामी भएर आएका एक व्यक्तिसहित जिल्लामा डेढ महिनाको अन्तरालमा चारजनामा डेंगु देखिएको छ। कार्यालयका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार साउन १ देखि भदौ १५ सम्ममा चारजनामा डेंगु देखिएको छ।
कामको सिलसिलामा भारत पुगेका एक व्यक्ति ज्वरो आएर फर्किएकामा उनको परीक्षणमा डेंगु देखिएको हो।
भारतको मुम्बईमा ज्वरो आएर फर्किएका उनको परीक्षणमा डेंगु रोग पुष्टि भएको केसीले जानकारी दिए।
साउनदेखि भदौ १५ सम्म जिल्लामा ३२४ जनाको परीक्षणका क्रममा चारजनामा डेंगु पुष्टि भएको केसीले जानकारी दिए।
एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु सार्ने भएकाले लामखुट्टेबाट बच्न सके र घर वरपर भाँडामा पानी जम्न नदिए रोगबाट बच्न सकिने चिकित्सकले बताएका छन्।
यसैबीच चितवनमा एक जनामा चिकनगुनिया रोगसमेत देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। नवलपरासी घर भई चितवनमा उपचार गराइएका एक व्यक्तिमा रोग देखिएको हो। रासस