
- उमा केसी
सशस्त्र द्वन्द्वका क्रममा देशमै सबभन्दा धेरै नागरिक बेपत्ता भएको भए पनि अझै सम्म उनीहरुको अवस्थाको जानकारी नहुनु दुःखद भएको उनीहरुको भनाइ छ।
आफन्तलाई कसले, किन बेपत्ता बनायो अहिलेसम्म आफूले जवाफ पाउन नसकेको बेपत्ता परिवारका प्रजिना वाँठामगरले बताइन्।
देशमा राजनीतिक परिवर्तन भएपनि आफूहरु भने लामो समयसम्म बेपत्ताको नातेदार भएर बस्नुपर्दा पीडा हुने गरेको उनले बताइन्।
बेपत्ताका श्रीमती र छोराछोरीलाई समाजले नराम्रो दृष्टिले हेर्ने गरेको दुखेसोसमेत पोखे।
हतियार समातेर प्रत्यक्ष युद्धमा सहभागी भएका बेपत्ता निकै कम भएको बताइएको छ। आफन्त माओवादी युद्धमा सहभागी भएका परिवारका सदस्य तथा राजनीतिमा चासो नभएकालाई बढी मात्रामा बेपत्ता पारिएको पीडितले गुनासो गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी रोल्पाको अभिलेखअनुसार जिल्लामा बेपत्ता हुनेको सङ्ख्या हाल ६४ जना रहेको छ।
सुरुवातमा ६७ जना बेपत्ता रहेको तथ्याङ्क भए पनि गजुल, कुरेली र जौलिपोखरीका बेपत्ता भनिएका तीनजना घर फर्केका कारण यो सङ्ख्या ६४ मा झरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका अध्यक्ष नौलसिं पुनले जानकारी दिए।
स्थानीय शान्ति समितिमार्फत अन्तरिम राहत प्राप्त गरेका बेपत्ता परिवारको सङ्ख्या भने ३३ जना मात्रै छ।
पछिल्लो पटक सत्यनिरुपण तथा मेलमिलाप आयोगमा बेपत्ता खोजी गरिपाऊँ भनी दिएको निवेदन ११५ जना रहेको मानव अधिकारकर्मी खेम बुढामगरले बताए।
२०५९ साल साउनदेखि बेपत्ता भएको छोरा हिराबहादुर बुढाको अवस्था १५ वर्ष बित्दासमेत जानकारी पाउन नसक्दा निकै पीडा हुने गरेको रोल्पा कोटगाउँकी ६० वर्षीया मेघमाली बुढाले दुखेसो पोखिन्।
सशस्त्र द्वन्द्वमा सहभागी नभएको आफ्नो छोरालाई राज्यले दाङबाट रोल्पा आउँदै गर्दा बेपत्ता बनाएको उनले बताइन्।
काठमाडौंबाट घर आउँदै गरेको छोरा श्रीमान् सुनारलाई राज्यले २०५९ साल साउनमा बेपत्ता बनाएको भए पनि अहिलेसम्म स्थिति सार्वजनिक नगर्नुले आफूहरु दोहोरो मारमा परेको जंकोट रोल्पाका ६४ वर्षीय दलराज सुनारले बताए।
बेपत्ता पारिएकाको स्थिति सार्वजनिक गर्न तत्कालीन विद्रोही र सरकार खुला दिलका साथ नलाग्दासम्म सत्य तथ्य पत्ता लगाउन नसकिने नेकपा एमाले रोल्पाका सचिवालय सदस्य मनसिंह डाँगीको भनाइ छ।
सशस्त्र युद्धका दुवै पात्र यतिबेला सरकारमा रहेकाले इच्छा शक्ति भए सेकेण्डभरमै समस्या समाधान हुने डाँगीले बबताए।
सशस्त्र द्वन्द्वमा प्रभावितमध्ये बेपत्ता परिवारको फरक पीडा रहेकाले यसलाई संवेदनशीलताका साथ लिनुपर्ने नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति किशोर आचार्यको सुझाव छ।
लामो समयसम्म पनि आफन्तको स्थिति सार्वजनिक नगर्दासमेत धैर्यताका साथ बस्नु आफन्तजनको सकारात्मक पक्ष भएको आचार्यले बताए।
हातमा बन्दुक लिएर प्रत्यक्ष युद्धमा सहभागी नभएका बेपत्ता भएकाले मानवअधिकारको सम्मान गर्न उनीहरुको स्थिति अविलम्ब सार्वजनिक हुनुपर्ने माओवादी सशस्त्र युद्धका सैन्य कमाण्डरसमेत रहेका जिल्ला समन्वय समिति रोल्पाका संयोजक राजबहादुर बुढाले बताए।
आफू सैन्य कमाण्डर भएपनि युद्धमा अन्तर्राष्ट्रिय कानूनको पालना गरेको स्मरण गर्दै विद्रोही वा राज्य पक्षबाट भएका जघन्य अपराधमा उन्मुक्ति दिन नहुने उनको सुझाव छ। रासस