
- रमेश लम्साल
महसुल तिर्न गएका ग्राहकलाई प्राधिकरणका कर्मचारीले राम्रो व्यवहार नगर्ने प्रवृत्ति कायमै छ। त्यस्तो व्यवहार गर्नेलाई कारबाही नभएको अनुभव धेरैसँग छ।
तर अबको केही दिन पछि तपार्इंको गुनासो सम्बोधन नगर्ने र नोलाइट शाखामा फोन नउठाउनेलाई उपभोक्ताले सिधै गुनासो गर्ने र कारबाहीको दायरामा ल्याउने संयन्त्र सञ्चालनमा आउने भएको छ।
ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले निःशुल्क ११५१ टेलिफोन नम्बर सञ्चालनमा ल्याउन लागेको छ।
प्राधिकरणका कर्मचारीले दुःख दिए, गुनासो सम्बोधन गरेनन् वा कुनै सेवा लिँदा घुस मागे भने तपार्इंले पैसा नलाग्ने सो नम्बरमा फोन गर्न सकिनेछ।
ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन उक्त हटलाइन टेलिफोन नम्बर सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए। नेपाल टेलिकमले प्राधिकरणका ग्राहकलाई सहज रुपमा गुनासो गर्न उक्त नम्बर प्रदान गरेको हो।
प्राधिकरणले हटलाइन सेवा सञ्चालनका लागि २४ सै घण्टा कार्यरत रहने गरी तीन÷तीनजनाका दरले कर्मचारी उपलब्ध गराउने भएको छ।
मुलुकभरका वितरण केन्द्रका कर्मचारीले उपभोक्तालाई राम्रो व्यवहार नगरेको, मिटर लिँदा घुस मागेको, ट्रान्सफर्मर बिग्रेको लामो समय हुँदा पनि मर्मत नगरेको जस्ता गुनासा सिधै ११५१ नम्बरमा फोन गर्न सकिनेछ।
ऊर्जामन्त्री शाहीले प्राधिकरण जनताको सेवामा क्रियाशील छ भन्ने सन्देश दिनका लागि हटलाइन सञ्चालनमा ल्याउन लागिएको र त्यसले प्राधिकरणका कर्मचारीलाई जिम्मेवार बनाउने विश्वास व्यक्त गरे। सो नम्बरमा एकैपटक तीन जनाले फोन गर्न सक्नेछन्।
जनगुनासो सुन्ने, ग्राहकलाई आवश्यक सूचना दिने, सेवाग्राहीसँग प्राधिकरणका कर्मचारीले भ्रष्टाचारजन्य गतिविधि गर्ने र पैसा मागे भने सिधै सो नम्बरमा टेलिफोन गर्न सकिने इन्जिनियर गणेश शाह बताउँछन्।
प्राधिकरणका कर्मचारीले सेवाग्राहीलाई दुःख दिएको गुनासो आउनासाथ सम्बन्धित थलोमा नै कारबाही गर्ने प्रणालीसमेत विकास गर्न लागिएको बताए।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन र कुनै गुनासो भए सिधै सम्पर्क गर्न सहज होस् भनेर टेलिफोन नम्बर सञ्चालनमा ल्याउन लागिएको बताए।
यसअघि ऊर्जा मन्त्रालयले प्रक्रिया पुगेका सेवाग्राहीलाई सात दिनभित्र बिजुलीको मिटर उपलब्ध गराउन प्राधिकरणका सबै जिल्ला कार्यालय, वितरण केन्द्र र क्षेत्रीय कार्यालयलाई निर्देशन दिइसकेको छ।
मिटर पाइएन, जडान गर्न कर्मचारीले अटेर गरे तथा पैसा नदिई काम गरेनन् भने पनि सिधै सो नम्बरमा फोन गर्न सकिनेछ।
मुलुकभर विद्युत्भार कटौती अन्त्य गरेपछि प्राधिकरणप्रति जनताको विश्वास बढ्दै गएको अवस्थामा कर्मचारीलाई थप जिम्मेवार बनाउन प्रविधिको सहयोग लिन लागिएको हो।रासस