PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

शवको व्यवस्थापन नहुँदा मोदीवेणी दुर्गन्धित



रासस

पर्वत :  शवको उचित व्यवस्थापन हुन नसक्दा प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल दुर्गन्धित बनेको छ। 

पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको कालीगण्डकी र मोदीखोलाको संगमस्थल प्रसिद्ध मोदीवेणी घाटमा शव नजलाइकन ढुंगाले पुरेर छाड्ने प्रचलनले दुर्गन्ध फैलन थालेको हो। 

पर्वत, बागलुङ र स्याङ्जाका बासिन्दाको अन्तिम दाहसंस्कार गर्ने उक्त स्थानमा केही समुदायका व्यक्तिले शव नजलाइकन ढुंगाले छोपेर हिँड्ने प्रचलन छ। 

दैनिकजसो दुईदेखि पाँचवटासम्म शव अन्तिम दाहसंस्कारका लागि मोदीवेणीमा ल्याउने गरिन्छ। त्यहाँ ल्याइएका शव कतिपयले नजलाइकन ढुंगाले छोपेर छाड्ने गरेका कारण दुर्गन्ध फैलिएको हो। 

विशेष गरी दशनामी समुदायका व्यक्तिको शव नजलाई ढुंगाले पुरेर छाड्ने गरेको पाइएको छ। त्यस्तै आर्थिक अभाव र जनशक्ति नभएकाहरुले पनि बेवारिसे अवस्थामा घाटसम्म लगेर त्यत्तिकै छाडिदिने गरेका छन् । 

राम्रोसँग नपुर्दा र वर्षायाममा आएको बाढीले छोपिएको शवलाईसमेत बाहिर निकाल्दा दुर्गन्ध फैलिएको ठूलीपोखरीका ढाकाराम सापकोटाले गुनासो गरे। 

यसबारे मोदीवेणी धाम संरक्षण समितिसमेत मौन बसेको छ। शवलाई व्यवस्थित तरिकाले खाडल खनेर पुर्न वा जलाउन आग्रह गरे पनि कतिपय समुदायले अटेर गरेको समितिको भनाइ छ।

दैनिकजसो ल्याउने शवलाई जलाउने र नजलाउने छुट्याएर व्यवस्थित रुपले खाल्टोमा पुर्नका लागि पहल गरिने समितिका अध्यक्ष गोपालदास बैरागीले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell