PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचकः अर्थमन्त्री 



रासस

मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचकः अर्थमन्त्री 

काठमाडौँ :   अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेकाले सबै क्षेत्रलाई सहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन आग्रह गरेका छन्। 

नेपाल आर्थिक पत्रकार समाज(सेजनको)को १८ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री कार्कीले  उद्योग व्यवसायी एवं सञ्चार क्षेत्रले दिगो अर्थतन्त्रको विकासका लागि सहयोग गर्नु जरुरी रहेको बताए।

उनले भने,‘अर्थतन्त्र चुनौती र अवसरको दोसाँधमा छ। त्यसलाई कसरी सबल बनाउन सकिन्छ भन्नेमा हामी चिन्तनशील छौं।’

उनले मुलुकलाई संवृद्धिको दिशामा अगाडि बढाउन सरकार क्रियाशील रहेको र अर्थतन्त्रको दायरासमेत फराकिलो हुँदै गएकाले थप लगानी गर्न वातावरण सहज हुने बताए। 

संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको भन्दै अर्थमन्त्री कार्कीले प्रदेश र संघको निर्वाचनपछि मुलुक पूर्णरुपमा राजनीतिक स्थिरताको चरणमा प्रवेश गर्ने र आर्थिक समृद्धिका मार्गसमेत प्रशस्त हुने उल्लेख गरे। 

नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले २३ वर्षयता मुलुकको आर्थिक वृद्धिदर ६।९ प्रतिशत रहेको र १३ वर्षपछि मुद्रास्फिति दर समेत चार प्रतिशतको हाराहारीमा रहेकाले आर्थिक क्षेत्र थप सवल बन्दै बताए।

उनले बैंक तथा वित्तीय संस्था ऐन र राष्ट्र बैंक ऐन निर्माणका क्रममा आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारको ठूलो सहयोग रहेको र त्यसले आफूहरुलाई काम गर्न समेत सहयोग पुगेको बताए। 

बैंक तथा वित्तीय संस्थाको क्षमतामा समेत बढोत्तरी भएको उल्लेख गर्दै उनले ८० प्रतिशत भन्दा बढी भू–भागमा वित्तीय संस्थाको पहुँच पुगेको र बाँकी रहेको २० प्रतिशत क्षेत्रमा समेत छिट्टै विस्तार गर्ने नीति रहेको जानकारी दिए। 

कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिले संविधान कार्यान्यवको प्रक्रियासँगै मुलुकमा लगानीको वातावरण बनेकामा खुसी व्यक्त गर्दै दीर्घकालीन सुधारका लागि सबैको साथ र सहयोग जरुरी रहेको आवश्यता औंल्याएका थिए। 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले सरकारको सकारात्मक पहलपछि मुलुकमा आर्थिक क्षेत्रको विस्तार भएको, लगानीको वातावरण बनेको र रोजगारीका थप अवसर सिर्जना भएको भन्दै खुसी व्यक्त गरे। 

सरकार, निजी क्षेत्र र सञ्चार जगतको सहकार्यले नै मुलुकमा आन्तरिक ताथ बाह्य लगानी भित्र्याउन सहयोग पुग्ने उनको भनाई थियो। 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक गतिविधि बढ्दै गएको र निरन्तर विद्युत् आपूर्तिले उद्योग व्यवसायीलाई लगानीका लागि अभिप्रेरित गरेको उल्लेख गरे। 

यसैबीच, सेजनको नयाँ कार्यसमितिको अध्यक्षमा पुष्पराज आचार्य र मोदनाथ ढकालले उम्मेदवारी दिएका छन्। 

त्यस्तै उपाध्यक्षमा रामराजा श्रेष्ठ र प्रभात भट्टराई, महासचिवमा भीम गौतम, अनुजराज ढुंगेल र जनार्दन बराल प्रतिस्पर्धामा उत्रिएका छन्।

यस्तै, सचिवमा सुजन ओली र नवीन अर्याल, कोषाध्यक्षमा सरस्वती ढकाल र भागवत भट्टराईले उम्मेदवारी दिएका छन्। 

निर्वाचन कार्यक्रम दिउसो १ बजेदेखि सुरु भएको र र साँझसम्म परिणाम आउने निर्वाचन समितिले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell