
काठमाडौँ : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले क्षेत्र निर्धारण आयोगको प्रतिवेदन अत्यन्तै विभेदकारी, आपत्तिजनक र त्रुटिपूर्ण रहेको बताएक छन्।
निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणसहितको नेपाल सरकारलाई बुझाएको प्रतिवेदन संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको, सामाजिक संरचनालाई तहसनहस पारेको, मधेशमा मधेशी बाहुल्य क्षेत्रहरुलाई टुक्राटुक्रा गरी गैरमधेशी बहुल क्षेत्रमा गाभ्ने काम गरी मधेशमैं मधेशी समुदायको प्रतिनिधित्वलाई न्यून पार्ने प्रयास गरेको र मधेशी समुदायप्रति पूर्णरुपले विभेद गरेको आरोप पार्टीले लगाएको छ।
एकाउन्न प्रतिशत जनसंख्या रहेको तराई मधेशमा क्षेत्र निर्धारण गर्दा राजनीतिक पूर्वाग्रहका आधारमा ४७ प्रतिशतमा सीमित गरी मधेशमा गैरमधेशी समुदायको वर्चस्व कायम गर्नेगरी अधिकांश क्षेत्रको पुनर्संचना गरिएको भन्दै पहाडी र हिमाली क्षेत्रमा पनि आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई समेत न्यून गर्ने षड्यन्त्र गरिएकोमा पार्टीले गम्भीर आपत्ति जनाएको छ।
'आयोगले स्वतन्त्र, निष्पक्ष र विभेदरहित ढंगले क्षेत्र निर्धारण गर्नुपर्नेमा नेपाली कांग्रेसको स्वार्थपूर्ति हुनेगरी क्षेत्र निर्धारण गरिएको हुनाले सो प्रतिवेदन तत्काल सच्याउन जोडदार माग गर्दछौं', पार्टीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।