PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

सुपथ मूल्य पसल आजदेखि, नूनमा दुई र चिनीमा पाँच रुपैयाँ छुट



रासस

सुपथ मूल्य पसल आजदेखि, नूनमा दुई र चिनीमा पाँच रुपैयाँ छुट

काठमाडौँ :  नजिकिँदै गरेका पर्व वडा दशैँ, तिहार तथा छठमा सहुलियत दरमा दैनिक उपभोगका वस्तु सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन्। 

आपूर्ति मन्त्रालयअन्तर्गतका चार निकाय साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले आजदेखि संयुक्तरुपमा सुपथ मूल्यका पसल उपत्यकाभित्र विभिन्न आठ स्थानबाट सञ्चालनमा ल्याएका हुन्। 

कालिमाटी, टेकु, सतुंगल, कोटेश्वर, जावलाखेल, सूर्यविनायक, रामशाह र कलंकी तथा उपत्यका बाहिर बनेपा, विराटनगरलगायत २२ स्थानबाट ती पसल सञ्चालनमा आएका हुन्।

साल्ट ट्रेडिङ कर्पोरेशनले तीनवटा घुम्ती सेवालाई पनि सञ्चालनमा ल्याएको छ। कर्पोरेशनले नूनमा दुई र चिनीमा पाँच रुपैयाँ छुटको व्यवस्था गरेको छ। 

विशेषगरी दैनिक उपभोग्य सामान नून, चिनी, चामल, तेल, पिठो, गेडागुडी, दाल, दुग्धजन्य पदार्थ उपभोक्ताले सहजरुपमा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यका साथ सरकारले हरेक वर्ष यस्ता पसल सञ्चालनमा ल्याउने गर्छ । 

आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रालयद्वारा आज रामशाहपथमा सुपथ मूल्यको पसलको शुभारम्भ गर्दै चाडबाडको समयमा दैनिक उपभोग्य वस्तु सहजरुपमा उपभोक्ताले उपभोग गर्न यस्ता पसलले सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले दुर्गम क्षेत्रमा पनि सरकारले यस्ता पसल प्रभावकारीरुपमा सञ्चालनमा ल्याउने जानकारी दिए। 

साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले संस्थानले चाडपर्वका समयमा नून, चिनी तथा खाद्य पदार्थमा विशेष छुटको प्रबन्ध मिलाएको जानकारी दिइन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell