काठमाडौं : उपप्रधान तथा परराष्टमन्त्री कृष्णबहादुर महराले परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रालयबीच सहकार्य गरी वैदेशिक रोजगारमा गएका नेपालीका समस्या समाधान गर्नुपर्ने बताएका छन्।
वैदेशिक रोजार सङ्घका प्रतिनिधि मण्डलसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री महराले परारष्ट्र मन्त्रालय एक्लैले वैदेशिक रोजगारीका समस्यालाई समाधान गर्न नसक्ने भएकाले सबैको पहल आवश्यक भएको बताए।
वैदेशिक रोजगारीका लागि गन्तब्य मुलुकसँग राय र परामर्श लिएर गर्नुपर्ने कार्य पनि रहेको भन्दै उनले कुटनीतिक च्यानल प्रयोग गरेर आगाडि बढ्ने स्पष्ट पारे।
परराष्ट्रमन्त्री महराले भने,‘बैदेशिक रोजगार सुरक्षित र मर्यादित हुनुपर्छ। राज्यका निकाय र गन्तब्य मुलुकसँगको सहकार्यबाट समस्याको समाधान गर्नुपर्छ। यस कार्यमा सहयोग गरौं।’
विदेशस्थित नियोगले दिने परिचयपत्र तथा मागपत्र प्रमाणीकरणका विषयमा परराष्ट्र मन्त्रालयबाट तत्काल सम्बोधन हुने विश्वास दिलाउँदै महराले विदेशिक रोजगारीका समस्या समाधानका लागि बनाइएको समुहमा सङ्घका प्रतिनिधिलाई समावेश गर्ने बताए।