भर्खरै हातमा शरच्चन्द्र वस्तीको किताब परेको छ नेपाली कसरी लेख्ने? ठीक लेखिरहेको छु भन्ने भ्रम पाल्नेहरु आफूजस्ता धैरैका शब्द विन्यासको ढङ्ग देखेर आफैँ रङवङ्गिएको छु। चड्कन हानिरहेको छ किताबले। वस्तीको भाषा स्तरोन्नति गर्ने अभियानको किताबमात्र होइन नजिकिँदै गरेको दशैँको छेको पारेर किताब बजारमा उतार्ने होडबाजी नै चलेको छ। ठूला-साना पब्लिकेसन्स पृथक शैलीमा किताब लन्च गर्ने होडमा छन्। बजारमा सबैखाले किताब जगमगाएका – राम्रा, नराम्रा। सामाजिक सञ्जालमा पुस्तक पढेको छु भन्ने देखाउनेहरुका फोटाहरु बग्रेल्ती भेटिन्छन्। अटोग्राफ र लेखकसँगको एक स्न्याप तस्बिर। समाजलाई चिहाउने किताब बनेको त्यही सामाजिक सञ्जालमा यस्तै विषय र अनि धैरै चाहिँ अल्मलिएको छ –राष्ट्रियतामा। तर, रमाइलो छ सञ्जालभित्रको राष्ट्रियताको बहस। न वाद न विचारको बहस। कुनै सीमा छैन। अक्टोपस झै कतै खुम्चेको छ त कतै तन्केको छ। बन्नु पर्ने विषयहरु छोपिनु र चल्न नपर्ने बहसहरु बतासिनु यसका विशेषता बनेका छन्।
चुनाव, राष्ट्रिय राजनीतिका चर्का नारा, दलीय दलाली, अनसन र स्वास्थ्य क्षेत्रका चर्का मुद्दाहरु सबै करिब छायाँमा छन् यतिखेर। प्रखर भएको छ जातीय इस्यू। एउटा सांगीतिक कार्यक्रमले धेरै नेपाली भाषीलाई काँचको पर्दासामु एकैसाथ भेला गराइदिएको छ। त्यही काँचको पर्दामा उपस्थित 'जज'हरुको टिप्पणीलाई जातीय आँखाले हेर्दै सत्तोसराप चलिरेको छ। भ्रम नै भ्रमको जञ्जालले भरिएको सामाजिक सञ्जाल - छिर्दा पनि नहुने छिरे पनि नपच्ने।
…
सञ्जालको सन्दर्भ भाषाबाटै सुरु भयो। साथमा छन् विप्लव प्रतीक यानी पत्रकार, कवि, गीतकार र लेखक। त्यो भन्दा धेरै भलाद्मी। सञ्जालको भाषा त टाढाको विषय हो मिडियाका भाषामै चित्त बुझ्दैन विप्लवलाई। भन्छन्, 'न्यूज पढ्नेकै शुद्ध बोली छैन।'
थाहा भएकै विषय हो भाषाविद् शरच्चन्द्र वस्ती भाषा बिगार्नेको खोजी गर्दैनन्। बिग्रेका भाषाहरु उनीकहाँ जतिखेर पनि आइपुग्छन् पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनबाटै। मतलब खोज्नै नपर्ने किनकि हरेकमा अशुद्धको भारी छ! भाषामै रमाउने विप्लव नेपाली टेलिभिजनहरु त्यही अभाव खड्किएको अनुभव गर्छन्।
'मुग्लिङको बाटो सुचारु भयो। खेल सुचारु भयो,' विप्लवले भने, 'तिमी नै भन त कपी एडिटर भन्ने हुन्न टेलिभिजनमा? 'सुचारु'को अर्थ हो सुन्दर। अब मुग्लिङको बाटो सुन्दर भयो भन्ने?'
भारतीय टेलिभिजनको प्रभावले छोप्या छ त नेपाली टेलिभिजनलाई। आफ्नोपन छैन। विप्लव थोरै असहमत हुन्छन्।
भन्छन्, 'इन्डियन टेलिभिजनमा शरच्चन्द्र वस्ती र मोहन मैनालीहरुजस्ता मान्छे हुन्छन् शब्द चयनका लागि काम गरिरहेका। प्रभाव भनेपछि त्यो पनि पर्नुपर्थ्यो होला नि!'
प्रशान्त तामाङ एक भारतीय युवकले इन्डियन आइडलमा प्रतिस्पर्धा गर्दा पैसा बटुलेर जिताउन जुटेका नेपालीहरु यतिखेर भने जातीय रङमा रङ्गिएका छन्। समाजको स्तर कुन हदमा गिरेको छ। मानिस कति अराजक बनिरहेका छन्। सामाजिक सञ्जालभित्रका टिकाटिप्पणीले छिनछिनमै खुलासा गरिरहेको छ।
अझै थपिए, 'राजनीतिको ज्ञान चाहिने हो। तर, यहाँ दलको सोर्स लगाएर टेलिभजनमा जाने चलन छ।'
गफ सिरियस बन्यो। पत्रकारितामा सक्रिय हुँदाका क्षण सम्झिए उनले – हिमाल खबरपत्रिकामा कपी एडिटर भनेर तोकेरै राखियो। पहिलो पटक हो नेपाली मिडियामा। खोइ त मिडियामा कपी एडिटिङको प्रचलन कहाँ पुग्यो?
सन्दर्भ समग्र मिडियाकै जारी छ। कपी एडिटर त परको कुरो। नेपालको सन्दर्भमा लक्षित समूहकै पहिचान छैन। न कुनै अनुसन्धान न कुनै मेहनत। एनालगबाट डिजिटल बनिसके टेलिभिजन। एचडी र ब्लू रे। कन्टेन्टमा क्वालिटी नदिएसम्म जतिसुकै एड्भान्स प्रविधिमा स्तरोन्नति भए पनि केही लछारपाटो लाग्दैन भन्छन् प्रतीक।
उदाहरण नै अघि सारे उनले – एउटा निम्न आयमा गुजारा गरिरहेको मानिसलाई २ करोडको घर, दुई करोडकै गाडी र दुई करोड नै बैंक ब्यालेन्स दिउँ। अनि उसको व्यवहार र चिन्तन हेरौं। के फरक हुन्छ? एचडी वा ब्लू रे त्यस्तै हो।
कन्टेन्टमा खर्च कम गर्ने प्रवृत्ति नेपाली मिडिया सञ्चालकहरुको रोग हो, हाम्रो ठम्याइ।
….
सामाजिक सञ्जाल नेपाल आइडलमय भएको छ। सन् २००१ मा ब्रिटिस ट्यालेन्ट म्यानेजर तथा टेलिभिजन पोड्युसर साइमन फुलरले थालेको पप अइडलकै यो फ्रेन्चाइज हो। इन्डियन आइडल हुँदै खुला सीमाना भएको नेपालतिर यो म्युजिकल रियालिटी सो सर्यो।
नेपाली काँचको पर्दामा आइडल आइपुग्दा यसले समाजका विभिन्न आयामहरुलाई खोतलिरहेको छ। आखिर नेपाली काँचको पर्दाका लागि यसको महत्व के?
'धेरै छन्,'
के के?
'इन्डियन आइडल र नेपाल आइडल एकै समयमा आउने भयो भने तिमीले नेपाल आइडल हेर्ने सम्भावना बढ्यो। हिजो अरु कुनै यस्तो सो आउँदा तिमीलाई रोक्न सक्दैन थियो।'
अरु?
'पोजेटिभ असर दिने भयो। अहिलेका पार्टिसिपेन्टमात्र होइन, अर्को सिजनका लागि संगीत सिक्नेहरु बढ्ने भए। तिमीले अर्को सिजन कस्तो होला भन्ने अनुमानमात्र गर न। शास्त्रीय संगीत सिक्नेहरु कति बढ्नेछन् होला?'
संगीतको प्रवर्द्धन र आर्थिक पाटो पनि एउटा विषय हो। त्योसँगै सामाजिक पक्ष पनि बलियो हुने उनको तर्क रह्यो।
'म्यूजिकमा इन्जोय गर्नेलाई परिवारले हेर्ने दृष्टिकोणमै फरक आउने भयो नि,' उनले भने, 'छोराछोरीलाई संगीतमा लागेर केही हुन्न भन्नेहरुको व्यवहार नै परिर्वतन गराउने भयो।'
त्यसो त नेपाल आइडलसँगै रोडिज पनि नेपाल भित्रिएको छ। ग्लोबलाइजेसनले क्रियट गरेका आइकन हो आइडल या रोडिज।
नाफाघाटाको व्यापार एकातिर छ। तर सत्य के हो भने नेपाल आइडलले भर्खरै जन्मिएको एउटा टेलिभिजनलाई स्थापित गरेको छ। एपी वान यसअर्थमा भाग्यमानी ठहरियो। सँगै नेपाली मिडियामा आफ्नो हैकम स्थापित छ भन्ने आत्मरतिमा रमाएका टेलिभिजनहरु एपी वानलाई पछ्याउन बाध्य भएका छन्। टेलिभिजनमा कन्टेन्टमाथि खर्च गर्नुपर्छ भन्ने पनि सिकाइरहेको छ यसले।
'फ्रेन्चाइज थिएन भने यो कुनै झुर टेलिभिजन सो मै सीमित हुन्थ्यो,' उनले भने, 'भाषा बुझुन कि नबुझुन फेन्चाइजरले मोनिटरिङ गरिरहेकै छन्। कम्प्रोमाइज गर्नै दिँदैनन् उनीहरुले। बाध्य भएर पनि राम्रो बनाउनु पर्छ। नत्र अर्कै टेलिभिजनलाई दिन सक्छन्।'
इन्डियन आइडलले थप अरु सोहरुलाई भित्र्याउन प्रेरित गरेको छ। लिल च्याम्प वा बुगिवुगी वा बिग बोस नै पनि नभित्रिला भन्न सकिन्न। ग्लोबलाइजेसनको एउटा निरन्तरता पनि हो कल्चरल कन्टेन्ट भित्रने प्रकृया।
तर त्यही कल्चर भित्रिरहँदा कन्ट्राफ्लोको सम्भावना पनि उत्तिकै बन्ने सम्भावना रहन्छ। नेपालका कुनै सिर्जनशील प्रोड्युसरले भित्रिएका टेलिभिजन कार्यक्रमको संगत गर्दैगर्दा आफ्नै मौलिक र स्तरीय कन्सेप्ट पनि ल्याउन सक्छ। त्यो फ्रेन्चाइजका रुपमा अरुतिर नफैलिएला भन्न सकिन्न। यतिमात्र हो उदारताले भित्र्याउनेमात्र होइन बाहिर्याउने ढोका खोलिरहेको हुन्छ।
'तर लेसन लर्न नगर्ने हो भने केही पनि हुन्न। वेल ट्रेन्ड मानिस तयार हुनैपर्छ,' उनले भने, 'जे दिए पनि चल्छ भन्ने दिन सकिँदैछ। वाध्य भएर पनि राम्रो परिवर्तन आउँछ।'
….
'प्रतिक्रियावादी' भएको छ नेपाली समाज। दल, जात, धर्म र वर्णले विथोलेको छ सोच। नेपाल आइडल नेपाली समाजको कुरुप पक्षलाई हेर्ने फरक ऐना पनि मान्न सकिन्छ।
टेलिभिजन एचडी बन्दै जाँदा सामाजिक सोच र मानसिकता भने खोक्रो र दरिद्री देखिँदैछ। विप्लवकै शब्दमा 'प्रतिक्रियावादी' भएको छ नेपाली समाज। दल, जात, धर्म र वर्णले विथोलेको छ सोच। नेपाल आइडल नेपाली समाजको कुरुप पक्षलाई हेर्ने फरक ऐना पनि मान्न सकिन्छ।
प्रशान्त तामाङ एक भारतीय युवकले इन्डियन आइडलमा प्रतिस्पर्धा गर्दा पैसा बटुलेर जिताउन जुटेका नेपालीहरु यतिखेर भने जातीय रङमा रङ्गिएका छन्। समाजको स्तर कुन हदमा गिरेको छ। मानिस कति अराजक बनिरहेका छन्। सामाजिक सञ्जालभित्रका टिकाटिप्पणीले छिनछिनमै खुलासा गरिरहेको छ।
मिडिया उत्तिकै संकुचित। इन्डियन आइडल हेरेर/उल्था गरेर पेज थ्री सामग्री तयार पार्ने पत्रिका, रेडियो, टेलिभिजनहरु नेपाल आइडलको विषयमा इर्स्यालु देखिएका छन्। मूलधारले बाइपास गरिरहेको छ यसलाई। सामाजिक सञ्जालका बहसदेखि मिडियाले हेर्ने दृष्टिकोणसम्म एकैनास छ।
'टेलिभिजनको एउटा सोबाट पूरै देश र समाजको अनुहार पढ्न मिल्ने है?'
मुस्काउँछन् विप्लव।
भन्छन्, 'एउटा कलाकार अर्को कलाकारले कहाँनिर बिगार्छ र उछितो काड्न पाइन्छ भनेर बसेको देखिन्छ। तिमीलाई त्यसै समाज प्रतिक्रियावादी भयो भनेको होइन नि!'
….
नेपालमा शैक्षिक संस्थाको संख्या बढेको छ। एसी लगाइएका रुपमा विद्यार्थीको पढाइ हुन थालेको छ। टेक्निकल्ली साउन्ड – डिजिटल्ली प्रेजेन्टेड। बिल्डिङहरु पनि चमकदार। इङ्लिस मिडियम। सबै पर्फेक्सनतिर ढल्किरहँदा अलिकति कतै खट्किने लाग्छ भने त्यो हो – मोरल एजुकेसन। विप्लवले एउटा टेलिभिजन कार्यक्रमबाट जसरी समाज पढे निचोड यही निकाले। उनले यसो भनिरहँदा केही समय अघि आएको एसइइको परिणाम याद आयो। धेरै फेल अथवा कम नम्बर कुनै विषयमा विद्यार्थीले ल्याएका थिए भने त्यो थियो – नैतिक शिक्षा।
धन्यवाद विप्लव प्रतीक। सबको जय हो।