PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

आचारसंहिता संकटकालको शैलीमा आयोः मन्त्री बलायर



पहिलोपोस्ट

आचारसंहिता संकटकालको शैलीमा आयोः मन्त्री बलायर

  • अरूण बम
डोटीः भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले निर्वाचन आचारसंहिता संकटकालको शैलीमा ल्याईएको आरोप लगाएका छन्। 

डोटीको दिपायलमा नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा मन्त्री बलायरले निर्वाचन आयोगले सरकारसँग समन्वय नगरी आचारसंहिता ल्याएको आरोप लगाए।

 ‘निर्वाचन आयोगले सरकारसँग कुनै समन्वय नै नगरी संकटकालको शैलीमा आचारसंहिता ल्याएकोमा सरकार अचम्मित छ,’ पत्रकार सम्मेलनका क्रममा उनले भने,‘निर्वाचन सम्बन्धि कार्यक्रम सरकार र आयोगको समन्वयमा तय गरिनुपर्ने हो। आयोगले विना समन्वय आचारसंहिता लगायो।’ 

तेस्रो चरणको स्थानीय तह निर्वाचनको आचारसंहिता कायम रहेकै बेला आएको यो आचारसंहितालाई ‘आचार संहिता माथि आचार संहिता ल्याईएको’ उनको टिप्पणी थियो।  

विना जानकारी ल्याईएको आचारसंहिताले सरकारका नियमित कार्यक्रमहरुलाई नराम्ररी प्रभावित पारेको मन्त्री बलायरले बताए। ‘हामी गत सरकारको काम चलाउ बजेटमा सरकार चलाईरहेको छौं। जसले कार्यसम्पादन, विकास निर्माण र जनताका अपेक्षा सम्बोधन गर्न सकिरहेको स्थिति छैन,’ उनले भने, ‘सबै तारतम्य मिलाउनु अगावै आचारसंहिता लगाएर आयोगले सरकारलाई बाँधेको छ। आक्रामक शैलीमा ल्याईएको आचारसंहिताबारे केही बुझ्न सकिएन।’ यहि अवस्थामा सरकारले निर्वाचनको वातावरण मिलाउन नसक्ने उनले जिकिर गरे। 

मंसिर १० गते हुने निर्वाचनका लागि अहिल्यै आचारसंहिता आवश्यक नरहेको उनको भनाई थियो। ‘यो वर्ष निर्वाचन नै निर्वाचनको वर्ष हो।

निर्वाचनलाई हेरेर विकासलाई पूर्ण अबरुद्ध पार्न मिल्दैन,’ मन्त्री बलायरले भने,‘यो अवस्थाले त वर्ष नै आचारसंहितामा जाने भो। त्यसैले आचारसंहिता मिलाएर छलफलका आधारमा लगाईनु पर्ने हो।’ 

आयोगले आचारसंहिता लगाएपनि तत्कालका लागि हट्नेमा सरकार विश्वस्त रहेको पनि उनले बताए। उनले भने,‘यस बिषयमा सरकारले आयोगसँग छलफल गर्छ। त्यसमा तत्कालका लागि आचारसंहिता हट्नेमा हामी ढुक्क छौ।’ यसैले आफूलाई आचारसंहिताको अनुभुति नभएको उनले बताए । 

छिट्टै भारत–चीन जोडिन्छ
मन्त्री बलायरले प्रदेश नम्बर–७ को भूमि हुँदै छिट्टै भारत–चीन जोडिने बताए। ‘भारतको गौरिफण्टा हुदै चीनको ताक्लाकोट नाकासम्म जोड्ने सडकका लागि सरकारले तयारी गरिरहेको छ,’ उनले भने।

यसका लागि साबिकको धनगढी–खुटिया–दिपायल फाष्ट ट्रयाकलाई धनगढी–दिपायल–चैनपुर–ताक्लाकोट नामाकरण गरेर काम थाल्ने प्रक्रिया सुरु भैसकेको उनले बताए। ‘यो करिडोरबाट तीन सय किलोमिटरमै भारत–चीन जोडिन्छ,’ उनले भने,‘यसलाई प्रदेश नम्बर–७ को समृद्ध मार्गको रुपमा मैले परिकल्पना गरेको छु।’

यो सडकको हिमाली क्षेत्रमा बाह्रैमास सडक सूचारु हुनेगरी साढे तीन किलोमिटर सुरुङ मार्गकोसमेत प्राबिधिक अध्ययन सुरु भैसकेको उनले बताए। यो सडकमा ७० किलोमिटरको डिपिआर भएर ठेक्का हुनेसमेत उनले बताए। 

अब सुरुङमार्गमा ध्यान
नेपालका पहाडी क्षेत्रमा सडक सञ्जाल बिस्तार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्गमा ध्यान दिईरहेको मन्त्री बलायरले बताए। उनले भने,‘पहाडी क्षेत्रमा सडक बिस्तार गर्दा डाँडाहरु कत्लेआम हुनथाले। त्यसले प्रकोपको जोखिम पनि निकै बढायो,’ उनले भने,‘यसैले हामीले सुरुङमार्ग पनि विशेष ध्यान बढाएका छौ। जसले छोटो दुरी पनि हुने र पर्याबरण पनि जोगिने। यसका लागि बिभागसंग अध्ययन थाल्न निर्देशन गरिसकेको छु।’

यसमा बिदेशी सहयोगकर्ताहरुले पनि ईच्छा देखाईरहेको उनले बताए।  

सडक तथा पूर्वाधारका क्षेत्रमा केही नयाँ कामहरु गर्न खोजिरहेको पनि उनले प्रतिक्रिया दिए। उनले भने,‘केही नयाँ प्रविधिमार्फत सडक तथा पूर्वाधार निर्माणबारे अध्ययन थालिरहेको छौ। आशा छ। त्यसले आशातित सफलता पाउनेछ।’

धनगढीमा अन्र्ताष्ट्रिय विमानस्थल
सरकारले धनगढीमा अन्तर्राष्ट्रिय बिमानस्थाल बनाउने गरी लगभग तयारी थालेकोसमेत मन्त्री बलायरले बताए। यसका लागि अध्ययन भैसकेको उनले बताए।

‘अन्तर्राष्ट्रिय विमानस्थलका लागि तीन हजार मिटर लम्बाई चाहिन्छ। २४ सय त अहिले पनि छ। जसमा पनि संचालन गर्न सकिने रहेछ,’ उनले भने, ‘तरपनि ६ सय मिटर थप्न चाहिने २६ करोडमध्ये ६ करोड बिनियोजन भैसकेको छ। बाँकी २० करोड तत्कालै उपलब्ध गराउन प्रधानमन्त्रीसमेत सहतम भैसक्नुभएको छ।’

धनगढीमा अन्य क्षेत्र भन्दा सहजै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने अवस्था रहेको पनि उनले बताए। उनले भने,‘अन्य ठाउँमा जमिनका लागि ठूलो बस्ती उठाउनुपर्ने, जंगल मास्नुपर्ने अवस्था छ। धनगढीमा थोरैमै सम्भव छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell