PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

बाढी पहिरोले नुवाकोटमा दश करोडको क्षति



रासस

बाढी पहिरोले नुवाकोटमा दश करोडको क्षति

नुवाकोट :  चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा दश करोड रुपैयाँभन्दा बढीको भौतिक संरचना र कृषि उब्जनीमा क्षति भएको छ। 

जिल्लास्थित सम्बन्धित कार्यालयले क्षतिको प्रारम्भिक प्रतिवेदनअनुसार कृषि उब्जनी र जोखिम बस्तीको सुरक्षा, पशु, खानेपानी, सिँचाइ, झोलुंगे पुल, पानी घट्टलगायतमा पुगेको क्षतिको पुनःनिर्माणमा दश करोड लाग्ने देखिएको हो। 

जिल्ला दैवीप्रकोप उद्धार समितिको प्रतिवेदनले नुवाकोटमा यो आर्थिक वर्ष (साउन १–भदौ १५ सम्म)को डेढ महिनाको अवधिमा ३९२ घरधुरी किसानको ४७ हेक्टर जमिनमा लगाएको अन्नबाली पूर्ण क्षति भएकाे समितिका प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए। 

बाढी पहिरोबाट किसानले लगाएको अन्नबाली पहिरोले तथा पुरिएर नोक्सान हुँदा ६८ लाख ९० हजारको क्षति भएको छ। प्रजिअ बरालकाअनुसार पशुतर्फ तीन घरधुरी किसानको तीन गोठमा क्षति पुगेको छ। खाने पानीतर्फ १८ वटा योजना क्षतिग्रस्त हुँदा ७२ लाख ७५ हजार क्षति पुगेको छ। 

बाढी पहिरोले ओखरबौबा मावि र भेडाबारी मावि भदु्रटार उच्च जोखिममा पुगेको छ। तीन घरधुरी परिवारलाई तत्कालै अन्यत्र सार्नुपर्ने र बागेश्वरीको कटुञ्जेका ४२ धरधुरी परिवारलाई सुरक्षित आवास निर्माणको व्यवस्था गर्नुपर्ने देखिन्छ। यसै गरी बेत्रावतीको झोलंगे पुलमा क्षति पुगेको र बस्तीसमेत जोखिममा परेको  छ। तीन स्थानमा सञ्चालित निजी पानीघट्ट पनि बगाएको छ। 

जिल्लाको ग्रामीण सडकमा क्षति पुगेकाले त्यसको पुनःनिर्माण तथा मर्मतका लागि ३८ लाख खर्च हुने देखिन्छ। बाढी पहिरोबाट क्षतिग्रस्त बनेका १५ वटा सिँचाइ कुलोको मर्मतमा ५३ लाख २२ हजार खर्च हुने जिल्ला कार्यालयसँगको समन्वयमा तयार गरिएको प्रतिवेदनमा उल्लेख छ। 

बाढीको क्षतिलार्इ लागत संकलनसहित तयार गरेको प्रतिवेदनको विश्लेषण गरी जोखिमको बस्तीलाई स्थान्तरण, कटानमा परेका जमिन सुरक्षा, पीडित भएका किसानलाई राहत उपलब्ध गराउन पहल गर्ने समितिले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell