
वीरगंज : नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर निर्वाचन अभियानलाई तीव्र पार्ने निर्णय गरेको छ।
शनिबार वीरगंजमा बसेको केन्द्रीय सचिवालय बैठकले २ नम्वर प्रदेशमा माओवादीप्रतिको आकर्षण बढ्दै गएको निष्कर्षसहित स्थानीय तह, प्रदेश र संघको निर्वाचन अभियानलाई तीव्र पार्ने निर्णय गरेको हो।
बैठकले तराई/मधेसका जिल्लामा निकै ठूलो धनजनको क्षति भएको र जनजीवन कष्टकर बनेको निष्कर्ष निकाल्दै बाढी प्रभावित जिल्लाहरुलाई संकटग्रस्त जिल्लाको रुपमा घोषणा गरी राहतको विशेष प्याकेज सञ्चालन गर्न सरकारलाई आब्हान गर्ने निर्णय पनि गरेको छ।
बैठकले राजनीतिक ध्रुवीकरणको अभियानले माओवादी केन्द्रमा नयाँ उत्साह र आत्मविश्वास बढेकाले राजनीतिक ध्रुवीकरणको अभियानमा जोड गर्ने निर्णय पनि गरेको छ।
बैठकमा भर्खरै मात्र माओवादी केन्द्रमा समाहित भएका नेताहरु देवेन्द्र पौडेल, रामेश्वर राय यादव, रामचन्द्र झा र पासाङ शेर्पाले आफ्ना अनुभूति राख्दै शक्तिशाली पार्टी निर्माणका लागि मुद्धा र ध्येय मिल्ने शक्तिसँग पार्टी एकता गर्नुपर्नेमा जोड दिएका थिए।
बैठकका निर्णयबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, ‘मधेसमा बाढीबाट ठूलो धनजनको क्षति भएको छ, यसले हामीलाई निकै सम्वेदनशील बनाएको छ। तराई/मधेसका बाढी प्रभावित जिल्लाहरुलाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र पूनस्र्थापनाको कामलाई तीव्र पार्न सरकारसँग गम्भीर रुपमा कुरा राख्नेछौं । अहिले मधेसमा माओवादीको पक्षमा निकै ठूलो लहर देखिएको छ, हामी आवश्यकता र औचित्यका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग तालमेलको नीति लिन्छौं र मूख्यः मधेसकेन्द्रीत दललाई प्राथमिकता दिने निर्णय गरेका छौं । मधेसमा माओवादीलाई ठूलो सफलता मिल्नेमा हामी विश्वस्त छौं ।’
पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संविधान संशोधन विधेयक एमालेको चरम नश्लवादी सोच र राप्रपाको विभाजनले असफल भएको भन्दै संघ र प्रदेशको निर्वाचनपछि फेरि संशोधन गर्न सकिने तर चुनावअघि सम्भव नभएको बताए।