काठमाडौं: मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ। मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ।
यस अवसरमा दरबारमार्ग स्थित जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ। यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
हिजरी संवत् अनुसार १४३६ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष निर्दोष अलीले जानकारी दिए।
“अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो। उनले छोरा इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाहले परीक्षामा उत्तीर्ण भइस्। अब यो भेडालाई बलिदान गर् भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको हो”–पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उनले भने।
मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मि निरन्तरता दिएको बताउछन्। यो पर्व एवम् धर्मलाई पुस्तान्तर हदिस नामक धर्म ग्रन्थको रचना भएकाे छ।
“यस ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ। मक्कामा जन्मिएका सलल्ला ५३ वर्षको उमेरमा मदिनामा मरेका थिए। यही सम्झनामा अहिले पनि दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”– उनले भने। रासस