
चितवन: शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेक छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा पहिरो खसेको छ। ती ठाउँमा राति १२ः३० बजे पहिरो खसेको हो। पहिरो पन्छाउनका लागि गजुरीबाट एक्साभेटर आएर बाटो पन्छाउने काम सुरु गरेको थापाले बताए। मुग्लिनबाट फिस्लिङ १२ कि मी पश्चिमतर्फ पर्छ भने घोप्टेभिर करिब दुई कि मीमा पर्छ।
यसै गरी नारायणगढ–मुग्लिन सडकखण्डको काली खोला, मुग्लिन आसपासलगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको छ। पानी परिरहेकाले पूरै सडक छिचोल्न नसक्दा के कति ठाउँमा पहिरो खसेको छ जानकारी हुन नसकेको थापाले बताए।
यस सडकमा पहिरोले लेदो बगिरहेको र पानी परिरहेकाले पहिरो पन्छाउन अप्ठ्यारो भएकाे थापाले बताए। सडककाे स्तरोन्नति भएकाले पहिरो खस्ने हुँदा रातको समयमा सडक बन्द गरिँदै आएको छ। रातभर रोकिएकाे सवारीसाधन बिहान पनि पहिरो नरोकिएपछि अलपत्र परेका छन्। रासस