PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

सञ्चारमन्त्रीले आफै काटे खम्बामा टाँगिएका अव्यवस्थित तार

सञ्चारमन्त्रीले आफै काटे खम्बामा टाँगिएका अव्यवस्थित तार

रासस/पहिलोपोस्ट


काठमाडौं : सडक खम्बामा अव्यवस्थित टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार काट्न सुरु गरेको छ।

बिजुली, टेलिफोन र केबलका तार सबै एउटै खम्बा (पोल)मा राखिएको हुँदा सहर कुरुप देखिएको, असुरक्षा बढ्दै गएको र राजश्वसमेत हिनामिना भएको भन्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइतबार माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेर त्यसको सुरुवात गरेका हुन्।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले भने, 'एशियन डेभलभमेन्ट बैंकको सहयोगमा ऊर्जा मन्त्रालयले जमिनमुनि तार विछ्याउने काम अगाडि बढाइरहेको र सडक फराकिलो बनाउनेबारे पनि छलफल भइरहेको छ।'

यसअघि सञ्चार मन्त्रालयले सम्बन्धित निकायलाई बोलाएर तार पहिचान गर्न र व्यवस्थित गर्न भने पनि काम भएकाे भएको थिएन। वैधानिकताको दायराभित्र नआएसम्म तार काट्ने अभियानलाई देशैभरि सञ्चालन गर्ने मन्त्री बस्नेतको भनाइ छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले तार एकै ठाउँमा गन्जागोल हुँदा धेरै ठाउँमा असुरक्षा हुने, बाटोमा मोटरसाइकल र गाडी हिँड्दा बेरिएर दुर्घटना हुने भएकाले केबल र टेलिफोनका तार हटाउनु परेको बताए।

अहिले ती तार काटेर एकै ठाउँमा व्यवस्थित गर्ने र भविष्यमा त्यसलाई जमिनमुनिबाट व्यावस्था मिलाउने प्राधिकरणको योजना रहेको छ। जमिनमुनि तार बिछ्याउनका लागि प्राधिकरणले बजेटसमेत छुट्याएकाे  छ। रासस



ट्रेन्डिङ पोस्ट

Ncell